एआईले मानव श्रमिक अभाव सिर्जना गर्नेछ– जेफ बेजोस

आप्रवासन आप्रवासन

 

 कृत्रिम बौद्धिकता (एआई)ले मानिसहरूको रोजगारी खोस्दैन, बरु दीर्घकालमा श्रकिम अभावको अवस्था सिर्जना गर्ने अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक जेफ बेजोसले बताएका छन् ।

पेरिसमा आयोजित भिभाटेक प्रविधि सम्मेलनमा बोल्दै बेजोसले प्रविधिको भविष्यप्रति आशावादी दृष्टिकोण प्रस्तुत गर्दै एआईले मानव जीवनलाई प्रतिस्थापन नगरी सहयोग गर्ने बताए ।

उनका अनुसार एआईको तीव्र विकासले मानिसहरूलाई बेकार बनाउँदै बरु गर्नुपर्ने कामको मात्रा बढ्नेछ । ‘मलाई थाहा छ कि स्मार्ट मान्छे समेत कयौं मानिसहरु एआईले मानवलाई अनावश्यक वा यस्तै केही बनाउँछ भनेर चिन्तित छन् । म यो विचारसँग पूर्ण रूपमा असहमत छु कि एआईले मानिसलाई अनावश्यक बनाउँछ । वास्तवमा एआईले श्रम अभाव सिर्जना गर्नेछ,’ उनले भने । बेजोसले आफ्नो अन्तरिक्ष कम्पनी ब्लु ओरिजिन र नयाँ एआई परियोजना ‘प्रोमिथियस’लगायत योजनाबारे पनि चर्चा गरे ।

हाल विश्वका विभिन्न कम्पनीहरूले एआई प्रविधिमा ठूलो लगानीपछि हजारौँ कर्मचारी कटौती गरिरहेका छन् ।  धेरै कम्पनीहरूले एआईका कारण उत्पादकत्व बढेकाले जनशक्ति घटाउनुपरेको बताएका छन् ।  अमेरिकामा मात्र मे महिनामा ९७ हजारभन्दा बढी रोजगारी कटौती गरिएको रिपोर्ट छ, जसको करिब ४० प्रतिशत एआईसँग सम्बन्धित रहेको बताइएको छ ।

यसैबीच, हालै गरिएको एक सर्वेक्षणअनुसार आधा अमेरिकी नागरिकले एआईका कारण आफू वा आफ्नो परिवारको सदस्यले रोजगारी गुमाउन सक्ने चिन्ता व्यक्त गरेका छन् । दक्षिण कोरियाका कारखाना श्रमिक संघदेखि हलिउडका लेखकसम्मले पनि एआईको प्रयोगप्रति असन्तोष र विरोध जनाइरहेका छन् । तर बेजोसका अनुसार मानिससँग गर्नुपर्ने कामहरू सधैं रहनेछन र एआईले ती कार्यहरूमा रहेका बाधाहरू हटाउनेछ ।

अमेजनले पनि पछिल्लो समय करिब ३० हजार कर्पोरेट रोजगारी कटौती गरिसकेको छ, जसको एक कारण एआई र स्वचालन प्रविधिको प्रयोग भएको बताइएको छ । कम्पनीका सीईओ एन्डी जासीले एआईका कारण भविष्यमा थप रोजगारी कटौती हुन सक्ने संकेत दिइसकेका छन् ।