अमेरिका र इरानबिच युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर भएपछि इरानका प्रमुख पत्रपत्रिकाहरूले विजयको भावसहित समाचार प्रकाशित गरेका छन् । यसलाई धेरै पत्रिकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य रणनीति असफल भएको दाबी गरेका छन् ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) निकट मानिने दैनिक पत्रिका जाभानले आफ्नो मुख्य शीर्षकमा अमेरिकाले ‘गौरवपूर्ण हार’ बेहोरेको उल्लेख गरेको छ । इजरायल र अमेरिकाले ठुलो उद्देश्यका साथ युद्ध सुरु गरे पनि अन्ततः इरान अपेक्षाभन्दा बढी शक्तिशाली रूपमा उभिएको पत्रिकाले लेखेको छ ।
राज्य समर्थित दैनिक हमशहरीले आफ्नो पहिलो पृष्ठमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई च्यातिएको कागज टोकेको चित्रसहित प्रस्तुत गरेको छ । उक्त पत्रिकाको मुख्य शीर्षकमा ‘हावासँगै उड्यो’ लेखिएको छ, जुन फारसी भाषामा कुनै योजना वा प्रयास पूर्ण रूपमा खेर गएको अर्थमा प्रयोग हुने लोकप्रिय उखान हो ।
रूढिवादी र प्रभावशाली पत्रिका कयहानले अझ कडा सन्देश दिँदै समाचार शीर्षक लेखेको छ । ‘स्टेट अफ होर्मुज हाम्रो प्रतिरोधी हतियार हो ः हामीले जुन शक्तिले टेक लगाएका छौँ, त्योसँग सम्झौता गर्न मिल्दैन,’ उक्त पत्रिकाको शीर्षकमा भनिएको छ ।
अर्को प्रमुख दैनिक पत्रिका साजन्देगीले सम्भावित आर्थिक लाभलाई प्राथमिकता दिएको छ । पत्रिकाले पहिलो पृष्ठमा ठुलो अक्षरमा ‘३००’ लेख्दै सम्झौतामा प्रस्ताव गरिएको ३०० अर्ब अमेरिकी डलर बराबरको पुनर्निर्माण कोषलाई मुख्य विषय बनाएको छ ।