अमेरिकालाई कसरी नाइँ भन्ने हामीलाई थाहा छ – इजरायली मन्त्री

आप्रवासन आप्रवासन

 

 इजरायलको अतिदक्षिणपन्थी सरकारका एक मन्त्रीले अमेरिकाले दबाब दिए पनि लेबनानको सीमावर्ती क्षेत्रबाट सेना फिर्ता नबोलाइने संकेत दिएका छन् ।

मन्त्री अमिचाइ चिक्लीले संयुक्त राष्ट्रसंघद्वारा निर्धारण गरिएको ‘ब्लु लाइन’ (इजरायल–लेबनानबीचको अनौपचारिक सीमा रेखा)सम्म सेना फिर्ता लैजानु असफलता हुने बताएका छन् । इजरायलको आर्मी रेडियोलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘यदि हामी ब्लु लाइनमा फर्कियौँ भने त्यो असफलता हुनेछ । मलाई लाग्दैन हामी त्यहाँबाट फिर्ता हुन्छौँ । आवश्यक पर्यो भने अमेरिकालाई पनि कसरी ‘नाई’ भन्ने हामीलाई थाहा छ ।’

हालैका दिनमा अमेरिका र इजरायलबिच तनाव छ । लेबनानमाथि आक्रमण गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सार्वजनिक रूपमा आलोचना गरेपछि दुई देशबिच तनाव बढेको छ ।

ट्रम्पले लेबनानविरुद्धको सैन्य अभियान र ठुलो संख्यामा नागरिकको मृत्यु भएको विषयमा नेतन्याहुको आलोचना गरेका थिए । उनले युद्धको व्यवस्थापनबारे असन्तोष व्यक्त गर्दै इजरायललाई संयमता अपनाउन आग्रह गरेका थिए ।

अमेरिकासँगको कुनै पनि दीर्घकालीन शान्ति सम्झौतामा दक्षिणी लेबनानमा रहेको इजरायली सैन्य उपस्थिति अन्त्य हुनुपर्नेलाई इरानले अनिवार्य सर्त भएको बताएको छ ।