खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’

आप्रवासन आप्रवासन

 

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले सरकारी सञ्चारमाध्यममार्फत एक सन्देश जारी गर्दै हालैको समझदारी पत्रलाई अगाडि बढाउन अनुमति दिएको घोषणा गरेका छन् । उनले सुरुमा यस विषयमा आफ्नो फरक धारणा र असहमति भए तापनि राष्ट्रपति मसुद पेजेस्कियानको विशेष आश्वासनपछि स्वीकृति प्रदान गरेको बताएका हुन् ।

सर्वोच्च नेता खामेनीका अनुसार उनले सुरुमा उक्त समझदारीप्रति असहमति जनाएका थिए । तर, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुखको हैसियतमा राष्ट्रपति पेजेस्कियानले इरानी राष्ट्र र ‘रेजिस्टेन्स फ्रन्ट’ को अधिकारको रक्षा गर्ने सम्बन्धमा दिएको दृढ प्रतिबद्धतापछि उनले आफ्नो निर्णय बदलेका हुन् ।

खामेनीले सन्देशमा भनेका छन्, ‘मैले सिद्धान्ततः यस विषयमा फरक धारणा राखेको थिएँ, तथापि, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुखका रूपमा राष्ट्रपतिले इरानी राष्ट्र र प्रतिरोध मोर्चाको अधिकार संरक्षण गर्ने सन्दर्भमा मलाई आफ्नो र अन्य सदस्यहरूको तर्फबाट दिएको प्रतिबद्धता र यसको स्पष्ट जिम्मेवारी स्वीकार गरेपछि मैले अनुमति प्रदान गरेको हुँ।’

दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका दोस्रो छोरा मोज्तबा खामेनीले राष्ट्रपतिले यसको पूर्ण उत्तरदायित्व लिएका कारण मात्र यसलाई अगाडि बढ्न अनुमति दिएको प्रस्ट पारेका छन् । यसअघि उनले यस समझदारीका केही बुँदाहरूमा असहमति जनाउँदै आएका थिए ।