लेबनानमा इजरायली हवाई आक्रमण, १८ जनाको मृत्यु

आप्रवासन आप्रवासन

 

 इजरायलले दक्षिणी लेबनानमा गरेको नयाँ हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । 

लेबनानको सरकारी न्यूज एजेन्सी नेसनल न्यूज एजेन्सी (एनएनए)का अनुसार रातभर भएका ती आक्रमणहरू निकै तीव्र र व्यापक थिए । रिपोर्टअनुसार नाबातिएह जिल्लाका जनघनत्व भएका क्षेत्रमा इजरायली सेनाले लगातार हवाई हमला गरेको हो। आक्रमणपछि धेरै क्षेत्रमा धुवाँको ठूलो मुस्लो देखिएको छ ।

इजरायली सेनाले भने उक्त कारबाही हिज्बुल्लाहलाई लक्षित गरिएको बताएको छ । सेनाका अनुसार इरान समर्थित उक्त समूहले युद्धविरामको बारम्बार उल्लङ्घन गरेपछि जवाफी कारबाही गरिएको हो । इजरायली रक्षा बल (आईडीएफ) ले रातभर र त्यसपछि पनि हिज्बुल्लाहका लडाकु र पूर्वाधारलाई लक्षित गर्दै आक्रमण जारी राखेको जनाएको छ ।

यो आक्रमण अमेरिका र इरानबिच भएको हालैको सम्झौतापछि आएको हो, जसले इजरायल र हिज्बुल्लाहबीचको युद्धलाई सबै मोर्चामा अन्त्य गर्ने घोषणा गरेको थियो । तर सम्झौतापछि पनि क्षेत्रमा तनाव कम भएको छैन । यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इजरायली सरकारका सदस्यहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेकोप्रति कडा प्रतिक्रिया दिएका थिए । 

उनले इजरायली नेताहरूलाई आफ्ना मुख्य सहयोगीलाई कमजोर नबनाउन चेतावनी दिएका थिए । ‘यदि म इजरायल सरकारको क्याबिनेटमा हुन्थें भने, म मेरो एकमात्र शक्तिशाली सहयोगीलाई यसरी आलोचना गर्दिनथेँ,’ भान्सले भनेका थिए ।