दक्षिणी लेबनानमा हिज्बुल्लाहको विस्फोटक आक्रमणमा चार इजरायली सैनिकको मृत्यु भएपछि इजरायलका अति–दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन ग्भिरले कडा टिप्पणी गरेका छन् ।
बेन ग्भिरले सामाजिक सञ्जाल एक्समा एक इजरायली आमाको आँसुको बदलामा हजार लेबनानी आमाले रुनुपर्छ भन्दै सारा लेबनान जल्नुपर्ने बताए ।
इजरायलले आफ्नो नागरिकको सुरक्षाका लागि कुनै पनि सम्झौता गर्न नहुने भन्दै अमेरिका लगायत सहयोगी देशहरूको दबाबभन्दा माथि राष्ट्रिय सुरक्षा प्राथमिकता हुनुपर्ने उनले बताए ।
यसैबिच इजरायलका वित्त मन्त्री बेजालेल स्मोट्रिचले पनि लेबनानमाथि थप कठोर सैन्य कारबाहीको माग गरेका छन् ।
उनले घटनापछिको बिहान कठिन भएको भन्दै अब आगोले जवाफ दिने र नरकका ढोका खोल्ने बेला आएको भन्ने टिप्पणी गरेका थिए ।
दक्षिणी लेबनानमा भएको हिज्बुल्लाह आक्रमणमा इजरायली सेनाका चार सैनिकको मृत्यु भएपछि यी अभिव्यक्ति आएका हुन् ।
घटनापछि इजरायलले लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण सुरु गरेको छ । अमेरिकासँगको युद्धविराम सम्झौतामा इरानले लेबनानबाट इजरायली सेना फिर्तीलाई अनिवार्य शर्त बनाएको छ ।
तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने दक्षिणी लेबनानमा इजरायली सेनाको उपस्थितिलाई आवश्यक बताउँदै त्यहाँबाट तत्काल फिर्ता नहुने सङ्केत गरिसकेका छन् ।