बेलायती प्रधानमन्त्रीले राजीनामा दिने चर्चा

आप्रवासन आप्रवासन

 

बेलायतका प्रधानमन्त्री किर स्टार्मरले सोमबार राजीनामाको घोषणा गर्न सक्ने चर्चा चुलिएको छ । बेलायती पत्रिका द अब्जर्भरका अनुसार स्टार्मरले सोमबार आफ्नो पदत्यागको समय सीमा सार्वजनिक गर्न सक्ने अपेक्षा गरिएको छ । 

रिपोर्टमा उल्लेख भएअनुसार उनले अन्तिम निर्णय लिनुअघि पत्नीसँग छलफल गरिरहेका छन् । तर सरकारी स्रोतले उक्त दाबीलाई पुष्टि नगरी स्टार्मर सरकार सञ्चालनमै केन्द्रित रहेको र यसअघि पनि नेतृत्व नछाड्ने स्पष्ट बताइसकेको जनाएको छ ।

शुक्रबार स्टार्मरका सम्भावित प्रतिद्वन्द्वी एन्डी बर्नहम संसदमा निर्वाचित भएपछि उनको नेतृत्वमाथिको दबाब अझ बढेको बताइएको छ । सांसद बनेपछि बर्नहमले औपचारिक रूपमा लेबर पार्टीको नेतृत्वमा चुनौती दिन सक्ने अवस्था बनेको छ । स्टार्मरले शुक्रबार नै कुनै पनि नेतृत्व चुनौतीको सामना गर्ने र पार्टीभित्रको आन्तरिक कलहबाट बच्न आग्रह गरेका थिए ।

सन् २०२४ को आमनिर्वाचनमा लेबर पार्टीलाई ऐतिहासिक बहुमतसहित जित दिलाएका स्टार्मर पछिल्ला महिनाहरूमा विभिन्न विवाद, घोटाला र नीतिगत यु–टर्नका कारण निकै अलोकप्रिय बनेका छन् । जीवनस्तर सुधार गर्छु भनेर चुनावका बेलामा गरेका वाचा उनले पूरा गर्न नसकेको धारणा मतदाताहरूले बनाएको विश्लेषण गरिएको छ ।

आफ्नै पार्टीभित्रबाट राजीनामाको दबाब

रोयटर्सको सर्वेक्षणअनुसार लेबर पार्टीका १०० भन्दा बढी सांसदहरूले सार्वजनिक रूपमा स्टार्मरले पद छोड्नुपर्ने वा कम्तीमा आफ्नो बहिर्गमनको समय सीमा घोषणा गर्नुपर्ने माग गरिसकेका छन् । यो भनेको पार्टीका कुल सांसदको करिब एक चौथाइ हो । द अब्जर्भरका अनुसार स्टार्मरले मन्त्रिपरिषद्का सदस्य, सल्लाहकार, दाताहरू र ट्रेड युनियन नेताहरूसँगको छलफलपछि आफ्नो पदमा टिकिरहन कठिन भएको निष्कर्ष निकालेका हुन सक्छन् ।

स्टार्मरले राजीनामा दिए वा पदबाट हटाइए भने फेरि बेलायतले पछिल्लो एक दशकमा सातौँ प्रधानमन्त्री पाउनेछ । यसले सार्वजनिक सेवा सुधार, अवैध आप्रवासन नियन्त्रण तथा आर्थिक समस्याहरू समाधान गर्न लगातार असफल हुँदै आएका सरकारहरूप्रति जनतामा बढ्दो असन्तुष्टि झल्काउने विश्लेषण गरिएको छ ।