चर्कियो ट्रम्प र इटालीकी प्रधानमन्त्रीको सामाजिक सञ्जालमै 'भिडन्त', के हो जी–७ को तस्बिर प्रकरण ?

आप्रवासन आप्रवासन

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँगको आफ्नो विवादलाई थप चर्काएका छन् । 

उनले फ्रान्समा यस साता सम्पन्न जी–७ शिखर सम्मेलनमा क्रममा मेलोनीले आफूसँग तस्बिर खिच्न बारम्बार आग्रह गरेको दाबी पुनः दोहोर्‍याएका छन्  ।

‘इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले फ्रान्समा भएको जी–७ बैठकका क्रममा मसँग तस्बिर खिच्न पटक–पटक आग्रह गरिन्,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् । मेलोनी उनको लागि युरोपका प्रमुख अमेरिकी सहयोगीमध्ये एक मानिँदै आएकी थिइन् ।

ट्रम्पले मेलोनीको लोकप्रियता तीव्र रूपमा घटिरहेको दाबी पनि गरे । उनका अनुसार इरानविरुद्धको अमेरिकी संघर्षमा सहयोग गर्न अस्वीकार गरेकाले यस्तो भएको हो  ।

तर मेलोनीले तुरुन्तै ट्रम्पको दाबी खारेज गरिन् । उनले ट्रम्पको तर्कलाई निरर्थक भन्दै आफ्नो लोकप्रियताभन्दा उनको आफ्नै (ट्रम्पकै) लोकप्रियतामा ध्यान दिन सुझाएकी छिन् । ‘राष्ट्रपति ट्रम्प, यी निरन्तर र निःशुल्क आक्रमणको कुनै अर्थ छैन्’ मेलोनीले शनिबार फेसबुकमा लेखेकी छिन् । उनले ट्रम्पले दाबी गरेझैँ अमेरिकी नेतासँगको मित्रताले आफ्नो लोकप्रियतामा कहिल्यै योगदान नपुर्‍याएको पनि बताइन् ।

दक्षिणपन्थी नेतृ मेलोनीले आफ्नो लोकप्रियता ‘इटालीको राष्ट्रिय हितको रक्षा गर्ने क्षमता’का कारण कायम रहेको बताइन् । उनले यही कारणले यस वर्षको सुरुमा अमेरिकालाई इटालीका सैन्य अड्डाहरू प्रयोग गर्न अनुमति नदिएको दाबी गरिन् ।

‘जे होस्, मेरो लोकप्रियता तपाईंको सरोकारको विषय होइन,’ मेलोनीले थपिन्, ‘म तपाईंलाई आफ्नै लोकप्रियतामा ध्यान दिन सुझाव दिन्छु ।’

यो विवाद एक समय निकट मानिएका दुई नेताबीच बिग्रँदै गएको सम्बन्धको पछिल्लो उदाहरण हो । यसले अमेरिका र उसका युरोपेली सहयोगीहरूबीचको दुरी पनि थप बढाएको छ । यद्यपि फ्रान्समा भएको जी–७ सम्मेलनमा सम्बन्ध सुधारका केही संकेत भने देखिएका थिए ।

ट्रम्पको टिप्पणी त्यतिबेला आयो जब इटालीका विदेशमन्त्री अन्तोनियो तायानीले शुक्रबार अमेरिकाको आफ्नो प्रस्तावित भ्रमण रद्द गरेको घोषणा गरे । उनको अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग भेट गर्ने कार्यक्रम तय भएको थियो ।

यस साता इटालीको एक टेलिभिजनसँगको अन्तर्वार्तामा ट्रम्पले मेलोनीले सम्मेलनमा आफूलाई ‘तस्बिरका लागि बिन्ती’ गरेको दाबी गरेका थिए । उनले आफूलाई उनको दया लागेकाले तस्बिर खिच्न सहमत भएको बताएका थिए ।

‘उनले मसँग तस्बिर खिच्न बिन्ती गरिन् । उनको मसँग तस्बिर खिच्ने चाहना अत्यन्त थियो । म सामान्यतया तस्बिर खिच्दैनथेँ, तर मलाई उनको दया लाग्यो,’ ट्रम्पले भनेका थिए ।

मेलोनीले शुक्रबार बिहान सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको भिडियोमार्फत ती टिप्पणीको कडा शब्दमा खण्डन गरिन् । उनका अनुसार ट्रम्पका दाबीहरू ‘पूर्ण रूपमा बनावटी’ हुन् ।

‘म स्पष्ट रूपमा स्तब्ध छु । अमेरिकाका राष्ट्रपति आफ्नै सहयोगीहरूसँग यस्तो व्यवहार किन गर्छन्, मलाई थाहा छैन । र यो पहिलो पटक पनि होइन,’ उनले भनिन् । उनले थपिन्, ‘पश्चिमका शत्रुहरू, अमेरिकाका शत्रुहरू र जससँग उनी धेरै नरम देखिन्छन्, तिनीसँग पनि ट्रम्पले यस्तो हठ देखाउँदैनन् । यो कुरा दुःखद छ ।’

‘तर एउटा कुरा याद राख्नुहोस्ः इटाली र म कहिल्यै बिन्ती गर्दैनौँ,’ मेलोनीले भनिन् ।

इटालीका केही सञ्चारमाध्यमले मेलोनीको समर्थन गरेका छन् । शनिबार एक अतिदक्षिणपन्थी पत्रिकाले मुखपृष्ठमा ‘ट्रम्प एउटा ८८८ हुन्’ भन्ने शीर्षक प्रकाशित गरेको थियो ।

सीएनएनले यस विषयमा प्रतिक्रिया लिन ह्वाइट हाउस र अमेरिकी विदेश मन्त्रालयसँग सम्पर्क गरेको जनाएको छ ।

शुक्रबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले मेलोनीमाथिको आलोचना दोहो¥याउँदै भने, ‘म उनलाई आफ्नो प्रशंसकका रूपमा चाहन्न, किनभने उनी (नाटो समूहसँगै) त्यहाँ थिइनन्,’ उनले इरान युद्धका क्रममा मेलोनीबाट पर्याप्त समर्थन नपाएको गुनासो गर्दै भने ।

ट्रम्प र मेलोनीबीच यो पहिलो विवाद होइन । यस वर्षको सुरुमा मेलोनीले इरानविरुद्धको युद्धको विरोध गरेका पोप लियो चौधौँप्रति ट्रम्पले गरेको आलोचनालाई ‘अस्वीकार्य’ भनेकी थिइन् । त्यसपछि ट्रम्पले मेलोनी र इटालीले अमेरिकालाई पर्याप्त सहयोग नगरेको भन्दै आलोचना गरेका थिए ।

यद्यपि मेलोनीलाई लामो समयसम्म ट्रम्पकी सबैभन्दा नजिककी पश्चिम युरोपेली सहयोगी मानिँदै आएको थियो । तर इरानसँगको युद्धमा सहभागी हुन अस्वीकार गरेपछि त्यो सम्बन्धमा तनाव आएको छ ।

ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि नै लोकप्रियतावादी तथा दक्षिणपन्थी नेतृ मेलोनीले ट्रम्प र उनका सल्लाहकारहरूको ध्यान तानेकी थिइन् । उनी ट्रम्पको दोस्रो शपथग्रहण समारोहमा सहभागी हुने एकमात्र युरोपेली नेतृ पनि थिइन् ।

कडा आप्रवासन नीति र राष्ट्रिय सार्वभौमिकताजस्ता विषयमा ट्रम्प र मेलोनीबीच समान धारणा देखिँदै आएको छ । विगतमा ट्रम्पले मेलोनीको व्यक्तिगत रूपमा खुलेर प्रशंसा गर्ने गरेका थिए, जुन अन्य धेरै युरोपेली नेताप्रति देखिने उनको कठोर व्यवहारभन्दा फरक थियो ।