युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान ‘अर्डर अफ द ह्वाइट ईगल’ फिर्ता गरेका छन् । पोल्यान्डका राष्ट्रपतिले उक्त सम्मान खोसेपछि दोस्रो विश्वयुद्धको इतिहाससँग जोडिएको विवाद फेरि चर्किएको हो ।
जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत उक्त सम्मान पोल्यान्डको राष्ट्रपतिको कार्यालयमा फिर्ता पठाएको जानकारी दिएका छन् । उनले यो सम्मान व्यक्तिगत रूपमा आफूलाई नभई युक्रेनी जनता र सेनालाई दिइएको विश्वास रहेको बताए ।
‘मलाई विश्वास छ, भविष्यले युक्रेनीहरूले पाउनुपर्ने सम्मानको पुष्टि गर्नेछ,’ सामाजिक सञ्जालमा एउटा पोष्टमा उनले लेखेका छन् ।
पोल्यान्डका राष्ट्रपति कारोल नाभ्रोत्स्कीले जेलेन्स्कीलाई दिइएको सम्मान फिर्ता लिने निर्णय गरेका थिए । यसको कारण युक्रेनी राष्ट्रपतिले आफ्नो देशको विशेष सैन्य बलको एक इकाइलाई युक्रेनी विद्रोही सेना (युपीए)को नाममा नामकरण गर्नु थियो । युपीए सन १९४० र १९५० को दशकमा सक्रिय रहेको राष्ट्रवादी सशस्त्र संगठन थियो ।
पोल्यान्डमा यस समूहलाई दोस्रो विश्वयुद्धका क्रममा हजारौँ पोलिस नागरिकको हत्या गरेको आरोप लाग्दै आएको छ । सामाजिक सञ्जालमा १३ मिनेट लामो सम्बोधनमा नाभ्रोत्स्कीले भने, ‘बहुमत पोलिस समाजका लागि युपीए दोस्रो विश्वयुद्धका समयमा पोलिस गणतन्त्रका नागरिकविरुद्ध क्रूर अपराध गर्ने संगठन हो,’ ।
युक्रेनले सन २०२२ मा रुसको आक्रमणपछि पोल्यान्डबाट ठुलो समर्थन पाएको छ । पोल्यान्डले लाखौँ युक्रेनी शरणार्थीलाई आश्रय दिएको छ र युक्रेनको प्रमुख सहयोगी राष्ट्रमध्ये एक मानिन्छ । तर युपीएसँग सम्बन्धित निर्णयले पोल्यान्डमा ऐतिहासिक पीडा र विवादलाई पुनः सतहमा ल्याएको छ ।
विश्लेषकहरूका अनुसार राष्ट्रवादी राजनीतिज्ञ नाभ्रोत्स्कीले चुनावी लाभका लागि युक्रेनविरोधी भावना पनि उपयोग गर्दै आएका छन् । पछिल्ला वर्षहरूमा पोल्यान्डमा बसोबास गर्ने युक्रेनीहरूले केही क्षेत्रमा बढ्दो भेदभावको सामना गरिरहेका छन् ।
युक्रेनी राष्ट्रपति कार्यालयका प्रमुख किरिलो बुदानोभ ले पोल्यान्डको निर्णयलाई युक्रेनी जनताप्रतिको अमैत्रीपूर्ण कदम भन्दै आलोचना गरेका छन् । उनले यो निर्णयले रुसलाई प्रचारको सामग्री उपलब्ध गराउने बताएका छन् । बुदानोभसहित चार जना युक्रेनी उच्च अधिकारीहरूले पनि आफूहरूलाई पोल्यान्डले दिएको राष्ट्रिय सम्मान फिर्ता गर्ने घोषणा गरेका छन् । तर सबै युक्रेनी नेताहरूले जेलेन्स्कीको कदमलाई समर्थन गरेका छैनन् ।
पूर्व प्रधानमन्त्री आर्सेनी यात्सेन्युक ले पोल्यान्डको गलत निर्णयको जवाफ अर्काे गलत निर्णयले दिन नहुने बताएका छन् । उनका अनुसार दुई देशबिचको सम्बन्ध जोगाउन संयमता आवश्यक छ । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले दुवै पक्षलाई भावनात्मक प्रतिक्रिया कम गरी तनाव नबढाउन आग्रह गरेका छन् । आगामी साता पोल्यान्डमा युक्रेनको युद्धपछिको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ, जसमा राष्ट्रपति जेलेन्स्की सहभागी हुने अपेक्षा गरिएको छ ।
आप्रवासन