स्ट्रेट अफ होर्मुज प्रयोग गर्न अझै डराइरहेछन् जहाज कम्पनी

आप्रवासन आप्रवासन

 

अमेरिका र इरानबिच भएको अस्थायी सहमतिको अवस्थाबारे विरोधाभासी संकेतहरू आउनुका साथै समुद्री क्षेत्रमा दर्जनौँ बारुदी सुरुङ रहेको आशंकाका कारण अन्तर्राष्ट्रिय जहाज कम्पनीहरू अझै होर्मुज जलमार्ग प्रयोग गर्न डराइरहेका छन् ।

विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने स्ट्रेट अफ होर्मुजको अवस्था आइतबार स्विट्जरल्यान्डमा हुने अमेरिका–इरान वार्ताको प्रमुख एजेन्डामध्ये एक हुने अपेक्षा गरिएको छ ।

गत साता केही समयका लागि जहाजहरूको आवतजावत बढे पनि इरानको सैन्य नेतृत्वले शनिबार पुनः स्ट्रेट बन्द गरिएको घोषणा गरेको थियो । इरानले लेबनानमा इजरायलले युद्धविराम उल्लङ्घन गरेको तथा अमेरिका–इरान युद्ध अन्त्यसम्बन्धी प्रारम्भिक सम्झौताको पहिलो बुँदा कार्यान्वयन नगरेको आरोप लगाएको छ । सरकारी टीभी आईआरआईबीमार्फत जारी वक्तव्यमा इरानले अमेरिकाले आफ्ना प्रतिबद्धता उल्लङ्घन गरेको भन्दै स्टे«ट अफ होर्मुजबाट जहाजहरूको आवतजावत बन्द गरिने घोषणा गरेको थियो।

त्यस्तै, इरानको अर्धसरकारी समाचार संस्था फार्सले सैन्य स्रोतलाई उद्धृत गर्दै आइतबार स्ट्रेट बन्द रहेको र इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी)को नौसेनाले अर्काे सूचना नभएसम्म कुनै पनि जहाजलाई स्ट्रेट आरपार गर्ने अनुमति नदिएको जनाएको छ ।

तर समुद्री जहाजहरूको गतिविधि निगरानी गर्ने प्रणालीहरूले पछिल्लो २४ घण्टामा धेरै कच्चा तेल बोकेका ट्यांकर र मालवाहक जहाजहरू स्ट्रेट पार गरेको देखाएका छन् । केही जहाजहरू इरानी तटभन्दा टाढा रहँदै ओमान तर्फको दक्षिणी मार्ग प्रयोग गरेर यात्रा गरिरहेका छन् । अमेरिकी मध्य कमाण्ड (सेन्टकम)ले शुक्रबार र शनिबार पनि जहाजहरूको आवतजावत जारी रहेको जनाएको छ ।

सेन्टकमका अनुसार शुक्रबार मात्रै ५५ वटा व्यापारिक जहाज स्ट्रेट पार गरेका थिए, जसले १ करोड ७० लाख ब्यारेलभन्दा बढी तेल तथा ठूलो परिमाणमा अन्य सामान विश्व बजारतर्फ ढुवानी गरेका थिए । अमेरिकी सेनाले नौवहन स्वतन्त्रता सुनिश्चित गर्न आफ्ना फौजहरू क्षेत्रमा सक्रिय रहेको जनाएको छ ।