इथियोपियाको राष्ट्रिय निर्वाचन समितिले आइतबार सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई देशको सातौं आम निर्वाचनको विजेता घोषित गरेको छ । यसले पार्टीलाई नयाँ सरकार गठन गर्ने बाटो खोलेको छ।
अदिस अबाबामा आधिकारिक नतिजा घोषणा गर्दै राष्ट्रिय निर्वाचन समितिले इथियोपियाको संसदको तल्लो सदन प्रतिनिधि सभाको ४८६ प्रतिस्पर्धी सिटमध्ये ‘प्रोस्परिटी पार्टी’ ले ४३८ सिट जितेको बताएको छ । निर्वाचन जुन १ मा भएको थियो ।
इथियोपियाको संविधानअनुसार प्रतिनिधि सभामा बहुमत सिट जित्ने राजनीतिक दल वा गठबन्धनले सरकार गठन गर्छ र प्रधानमन्त्रीको नाम प्रस्ताव गर्छ ।
निर्वाचन समितिको तथ्याङ्कअनुसार ‘प्रोस्परिटी पार्टी’को यो जित ४२ वटा राजनीतिक दलहरूबीचको प्रतिस्पर्धापछि आएको हो । ती दलहरूले प्रतिनिधि सभा र विभिन्न क्षेत्रीय विधानसभाका लागि १० हजार भन्दा बढी उम्मेदवारहरू खडा गरेका थिए, जसमा स्वतन्त्र उम्मेदवारहरू पनि थिए ।