बन्दको घोषणापछि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमनमा कमी

आप्रवासन आप्रवासन

 

लेबनानमाथि इजरायलको आक्रमणको विरोधमा इरानले रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुज पुनः बन्द गरेको घोषणा गरेपछि उक्त क्षेत्रमा जहाजहरूको आवागमन उल्लेखनीय रूपमा घटेको छ । सामुद्रिक गुप्तचर कम्पनी विन्डवार्डका अनुसार आइतबार १२ वटा जहाजले मात्रै स्ट्रेट पार गरेका छन् । 

अघिल्लो दिन ३५ वटा जहाजले उक्त जलमार्ग प्रयोग गरेका थिए । स्ट्रेट प्रवेश गरेका आठ जहाजमध्ये पाँचवटाले आफ्नो अटोमेटिक आइडेन्टिफिकेसन सिस्टम गरेका थिए, जसले उनीहरूको गतिविधि ट्र्याक गर्न कठिन बनाएको थियो ।  

विन्डवार्डले सामाजिक सञ्जाल एक्समा लेख्दै वर्तमान अवस्था अवरुद्धको झल्को दिने खालको भएको जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेशकियनबिच अमेरिका–इजरायल र इरानबिचको द्वन्द्व अन्त्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएपछि स्ट्रेटमा जहाज आवागमनमा सुधार हुने सङ्केत देखिएको थियो । समुद्री तथ्याङ्क प्रदायक केप्लरका अनुसार बिहीबार २५ वटा जहाजले जलमार्ग पार गरेका थिए, जुन अप्रिल मध्ययता सबैभन्दा उच्च थियो ।

तर शनिबार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले लेबनानमा इजरायलले गरेका ‘अपराध’ तथा अमेरिका शान्ति कायम गर्न असफल भएको आरोप लगाउँदै  स्ट्रेट बन्द गरिएको घोषणा गरेको थियो । यद्यपि, अमेरिकी सेनाको सेन्ट्रल कमान्डले इरानको दाबी अस्वीकार गर्दै जलमार्ग अझै सुरक्षित र खुला रहेको जनाएको छ । सेन्ट्रल कमान्डका अनुसार शनिबार मात्रै ५५ वटा व्यापारिक जहाजले उक्त मार्ग प्रयोग गरेका थिए ।

दुवै पक्षले दिएको तथ्याङ्कमा ठुलो अन्तर देखिएपछि यसको वास्तविक अवस्था अस्पष्ट बनेको छ । क्यानडाको म्याकमास्टर विश्वविद्यालयका आपूर्ति शृङ्खला विज्ञ बेहरुज बख्तियारीका अनुसार केही जहाजहरूले इरानी सैन्य निगरानीबाट बच्न एआईएस बन्द गरी ओमानको तटीय मार्ग प्रयोग गरेको हुनसक्छ । 

‘इरानले यातायात घटेको देखाउन चाहन्छ भने सेन्ट्रल कमान्डले प्रभाव न्यून रहेको देखाउन चाहन्छ । त्यसैले दुवै पक्षका तथ्याङ्क फरक देखिएका हुन सक्छन्,’ उनले भने ।