उत्तर कोरियाली नौसेनालाई आणविक हतियारले सुसज्जित गर्दैछन् किम जोङ उन

आप्रवासन आप्रवासन

 

 उत्तर कोरिया आफ्नो नौसेनालाई आणविक हतियारले सुसज्जित बनाउने कार्यक्रम योजनाअनुसार अगाडि बढिरहेको त्यहाँका नेता किम जोङ उनले बताएका छन् । साथै उनले १० हजार टन क्षमताका रणनीतिक युद्धपोत निर्माण गर्ने महत्त्वाकाङ्क्षी योजना पनि सार्वजनिक गरेका छन् । 

उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)का अनुसार किमले मंगलबार नाम्पो बन्दरगाह सहरमा आयोजित एक समारोहमा यस्तो घोषणा गरेका हुन् ।

उक्त समारोहमा उत्तर कोरियाले गत वर्ष निर्माण गरेको ५,००० टन क्षमताको युद्धपोत चोए ह्योन लाई औपचारिक रूपमा नौसेनामा समावेश गरिएको थियो । ‘नौसेनालाई आणविक हतियारले सुसज्जित गर्ने कार्यक्रम निर्धारित योजनाअनुसार अघि बढिरहेको छ,’ समारोहलाई सम्बोधन गर्दै किमले भने । उनका अनुसार यसले उत्तर कोरियाको आणविक शक्तिलाई विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा परिचालन गर्न सक्षम बनाउनेछ ।

उत्तर कोरियाले यसअघि नै चोए ह्योन युद्धपोतलाई सबैभन्दा शक्तिशाली हतियारहरूले सुसज्जित जहाज भनेको थियो । किमले यस वर्ष उक्त वर्गका विभिन्न युद्धपोतहरूको निरीक्षण गरेका थिए । अप्रिलमा उनले चोए ह्योनबाट क्रुज मिसाइल परीक्षणको प्रत्यक्ष अवलोकन समेत गरेका थिए । किमले आफ्नो भाषणमा चाँडै अर्काे विनाशक युद्धपोत काङ कोनलाई पनि सञ्चालनमा ल्याइने बताए । 

उनले भने, ‘चोए ह्योनपछि हामी काङ कोनलाई सञ्चालनमा ल्याउनेछौं । त्यसपछि १० हजार टन क्षमताका रणनीतिक युद्धपोतहरू क्रमशः निर्माण र सञ्चालन गरिनेछ,’ । किमको योजनाअनुसार उत्तर कोरियाले अब प्रत्येक वर्ष चोए ह्योनभन्दा उच्च स्तरका दुईवटा सतही युद्धपोत निर्माण गर्ने लक्ष्य लिएको छ । यसमा १० हजार टन क्षमताका क्रुजर वर्गका जहाजहरू पनि समावेश हुनेछन् ।

सोमबार सम्पन्न तीनदिने पार्टी बैठकमा किमले देशको रक्षा क्षमता अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । दक्षिण कोरिया र अमेरिकाले आफ्नो सैन्य आधुनिकीकरण तीव्र बनाएको आरोप लगाउँदै त्यसले क्षेत्रलाई आणविक युद्धको संघारमा पुर्याएको दाबी उनले गरे ।

 उत्तर कोरियाले सन २०१९ मा हनोई मा किम जोङ उन र डोनाल्ड ट्रम्प बीच भएको शिखर वार्ता असफल भएपछि आफूलाई अपरिवर्तनीय आणविक शक्ति सम्पन्न राष्ट्र घोषणा गर्दै आएको छ । त्यसयता प्योङयाङले आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तर विस्तार गरिरहेको छ ।