पाकिस्तानी हवाई क्षेत्रमा छिर्‍यो एयर इन्डियाको विमान

आप्रवासन आप्रवासन

 

भारतीय विमान सेवा प्रदायक कम्पनी एयर इन्डियाको एउटा यात्रुवाहक विमान प्राविधिक गडबडीका कारण अनियन्त्रित भएर पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गरेपछि पुनः भारत फर्काइएको छ ।

सो विमानले दिल्लीबाट अमृतसरका लागि उडान भरेको थियो । एयरपोर्ट अधिकारीहरूका अनुसार एयरबस एआई–३२१ विमान सोमबार राति ९ः१८ बजे दिल्लीबाट उडेको थियो, जुन निर्धारित समयभन्दा केही मिनेट ढिलो थियो ।

उडानका क्रममा प्राविधिक समस्या देखिएपछि विमान आफ्नो निर्धारित मार्गबाट विचलित भई पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गरेको बताइएको छ । पाकिस्तानको हवाई यातायात नियन्त्रण (एटीसी)ले विमानलाई सीमा उल्लङ्घनबारे चेतावनी दिएपछि पाइलटले तुरुन्तै स्थिति बुझेर विमानलाई भारततर्फ फर्काएका थिए ।

तर अमृतसरको हवाई क्षेत्रमा अत्यधिक ट्राफिक भएकाले विमानलाई तत्काल अवतरण अनुमति दिइएन । त्यसपछि एटीसीले विमानलाई पुनः दिल्ली फर्किन निर्देशन दिएको थियो । विमान दिल्लीमा सुरक्षित अवतरण गरेपछि करिब दुई घण्टापछि पुनः अनुमति लिएर फेरि उडान भरेको थियो ।

पुनः उडानपछि विमान अन्ततः राति २ः२० बजे अमृतसरमा सुरक्षित रूपमा अवतरण गरेको बताइएको छ । यस घटनाका कारण यात्रुहरूलाई करिब चार घण्टा ढिलाइ भएको छ ।

सम्बन्धित अधिकारीहरूले प्राविधिक समस्या र मार्ग विचलनको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन् । विमान कसरी पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश ग‍र्‍यो  भन्ने विषयमा विस्तृत जाँच भइरहेको जनाइएको छ ।