अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध व्यवस्थापनमा आफ्नो भूमिकाबारे अमेरिकी सिनेटमा भएको पछिल्लो मतदानमा महत्त्वपूर्ण राजनीतिक जित हासिल गरेका छन्।
बुधबार भएको मतदानमा सिनेटले राष्ट्रपति ट्रम्पको युद्ध सञ्चालन अधिकार सीमित गर्ने प्रस्ताव अस्वीकार गरेको छ । यो निर्णय अघिल्लो दिन भएको मतदानभन्दा उल्टो देखिएको छ, जसले ह्वाइट हाउसलाई कूटनीतिक दबाबमा पारेको थियो। मङ्गलबार सिनेटले ५०–४८ मतले एउटा प्रतीकात्मक प्रस्ताव पारित गर्दै इरान युद्ध अन्त्य गर्न आह्वान गरेको थियो।
तर बुधबार भएको अर्काे मतदान ५०–४७ मतले अस्वीकृत भयो, जसले अघिल्लो निर्णयको राजनीतिक सन्देशलाई कमजोर बनाएको छ। यो विवादास्पद राजनीतिक मोडपछि रिपब्लिकन पार्टीभित्र मतभेद देखिएको थियो।
तर पछि केही सांसदहरूले आफ्नो अडान परिवर्तन गर्दै ट्रम्पको पक्षमा मतदान गरे । तीमध्ये सांसद र्यान्ड पल र बिल क्यासिडीले पहिले राष्ट्रपति अधिकार सीमित गर्ने पक्षमा बोले पनि अन्तिम मतदानमा ट्रम्पको लाइनसँग मिलेर मतदान गरेको बताइएको छ । यो घटनाले अमेरिकी संसद्मा युद्ध अधिकार र राष्ट्रपतिको कार्यकारी शक्तिबिचको तनावलाई पुनः सतहमा ल्याएको छ ।
राष्ट्रपति ट्रम्पले मंगलबारको मतदानलाई गलत समयमा गरिएको र अर्थहीन भन्दै आलोचना गरेका थिए । बुधबार रिपब्लिकन सांसदहरूसँग बन्द बैठकमा उनले कडा असन्तुष्टि व्यक्त गरेको अमेरिकी मिडियाले जनाएको छ ।
सो बैठकमा सहभागी सांसद जोन केनेडीका अनुसार ट्रम्प निकै आक्रोशित देखिएका थिए। अन्य सहभागीहरूले पनि ट्रम्पले बैठकमा लामो सूचीमा आफ्ना गुनासोहरू राखेको बताएका छन् । तर मतदानपछि ट्रम्पले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया दिँदै ‘यो मतदानले इरानलाई चेतावनी दिएको छ,’ भनेर लेखेका थिए।