पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ

आप्रवासन आप्रवासन

 

 विश्व बजारमा कच्चा तेलको भाउ ओरालो लागिरहेको छ । पश्चिम एसियाबाट तेल आपूर्ति बढ्ने अपेक्षा बलियो बन्दै जाँदा कच्चा तेलको मूल्य लगातार ओरालो लागेको छ । विश्लेषकहरूका अनुसार आपूर्ति बढ्ने संकेतले मागसम्बन्धी चिन्ताभन्दा बढी प्रभाव पारेपछि मूल्यमा गिरावट आएको हो ।

बिहीबार कारोबारका क्रममा लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा अगस्ट डेलिभरीको ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १ डलर शून्य ६ सेन्टले घटेर ७२ डलर ६८ सेन्टमा झरेको छ । यो अघिल्लो दिन बजार बन्द हुदाको तुलनामा १ दशमलव ४४ प्रतिशत कम हो । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजननमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियटको (डब्ल्यूटीआई)को भाउ पनि ७६ सेन्टले घटेर ब्यारेलकै  ६९ डलर ५८ सेन्टमा आएको छ । यो अघिल्लो दिन बजार बन्द हुदाको तुलनामा १ दशमलव शून्य ८ प्रतिशत कम हो । बुधबार यता कच्चा तेलको दुबै बेञ्चमार्क फेब्रुअरी २७ यताकै न्यून स्तरमा छन् ।

पश्चिम एसियाबाट तेल आपूर्ति अपेक्षाभन्दा छिटो सामान्य अवस्थामा फर्किने विश्वासका कारण तेलको भाउ घटिरहेको विश्लेषण गरिएको छ । तेल बजारले पश्चिम एसियाबाट तेलको आपूर्ति धेरै छिटो पुनःस्थापित हुने अनुमान गरिरहेको बजार अनुसन्धाता संस्था आईजीका विश्लेषक टोनी स्कामोरले बताए । उनका अनुसार केही साताअघि कसैले पनि यति छिटो मूल्य घट्ने अपेक्षा गरेका थिएनन् ।

अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले स्ट्रेट अफ होर्मुजबाट हुने तेल ढुवानी इरान युद्ध सुरु हुनुअघिको अवस्थातर्फ फर्किँदै गएको बताएका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा मात्र २ करोड ब्यारेलभन्दा बढी तेल उक्त मार्गबाट बाहिरिएको छ । समुद्री मार्गमा रहेका सम्भावित बारुदी सुरुङहरू हटाउनुपर्ने भएकाले अवस्था पूर्ण रूपमा सामान्य बन्न अझ केही साता लाग्न सक्ने उनले बताए ।

अमेरिका–इजरायल र इरानबीच गत साता भएको प्रारम्भिक युद्धविराम सम्झौतापछि इरानले पनि तेल निर्यात बढाउने अपेक्षा गरिएको छ । केही अमेरिकी प्रतिबन्धमा अस्थायी सहजता आएपछि इरानी तेल पुनः अन्तर्राष्ट्रिय बजारमा आउने सम्भावना बढेको छ । यसले विश्व बजारमा भौतिक रूपमा बिक्री हुने कच्चा तेलको मूल्यमा समेत दबाब सिर्जना गरेको छ ।