विद्यार्थी भिसामा पोल्यान्ड पुगेका नेपालीसहितका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब अस्थायी बसोबास तथा वर्क पर्मिटको पाउन थप कठिन हुने भएको छ । विद्यार्थी भिसा दुरुपयोग भएको भन्दै पोल्यान्डको संसद्ले नयाँ कानुन पारित गर्दै विदेशी विद्यार्थीका लागि भिसा र अस्थायी बसोबास अनुमति प्रक्रियामा कडाइ गरेको हो । जसमा विद्यार्थी भिसामा गएकालाई दिइँदै आएको सुविधा कटौती गरिएको छ ।
यस्तै पोल्यान्डमा अध्ययनका लागि जाने तयारीमा रहेका विद्यार्थीहरूले नयाँ भिसा नियमको सामना गर्नुपर्नेछ भएको छ ।
नयाँ कानुनअनुसार पोल्यान्डमा अध्ययनका लागि भिसा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीले आफूले अध्ययन गर्ने कार्यक्रमको अङ्ग्रेजी वा पोलिस भाषामा B2 स्तरको भाषा ज्ञान भएको प्रमाण अनिवार्य पेस गर्नुपर्ने छ ।
यस नियममार्फत पोल्यान्ड सरकारले अध्ययनको नाममा भिसा लिएर अन्य उद्देश्यका लागि प्रवेश गर्ने प्रवृत्तिमा रोक लगाउने लक्ष्य लिएको छ ।
त्यस्तै, पोल्यान्डका विश्वविद्यालयहरूले अब कुल विद्यार्थी सङ्ख्याको ५० प्रतिशतभन्दा बढी विदेशी विद्यार्थी भर्ना गर्न नपाउने समेत नियम ल्याइएको छ । विद्यार्थी भर्नामा सीमितताले जारी हुने भिसा स्वतः कम हुने छ ।
यसबाहेक विश्वविद्यालयहरूले भिसा पाएर भर्ना भएका तर कक्षा नआउने विद्यार्थीहरूको विवरण पोल्यान्डको आप्रवासन कार्यालयलाई जानकारी गराउनुपर्नेछ ।