उत्तर कोरियाबाट बढ्दो सैन्य खतरा सामना गर्न दक्षिण कोरियाले ठुलो स्तरको ड्रोन तथा काउन्टर–ड्रोन क्षमता विस्तार गर्ने घोषणा गरेको छ । योजनाअनुसार करिब ५ लाख ‘ड्रोन योद्धा’लाई तालिम दिइनेछ र अग्रपंक्तिका सैनिक युनिटहरूमा हजारौँ ड्रोन प्रणालीहरू वितरण गरिनेछ ।
दक्षिण कोरियाली रक्षा मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको योजनाअनुसार सन २०२९ सम्ममा करिब १ लाख १० हजार ड्रोन उत्पादन गर्ने लक्ष्य राखिएको छ, जसलाई सेना, नौसेना, वायुसेना र मरीनमा प्रयोग गरिनेछ ।
लक्ष्य अनुसार ड्रोनलाई अब विशेष इकाइको उपकरण मात्र नभई सामान्य सैनिकको दैनिक युद्ध सामग्री बनाइनेछ । ड्रोन अब सीमित इकाइको उपकरण होइन, सबै सैनिकको साझा युद्ध उपकरण बन्नुपर्छ भन्दै यसलाई दोस्रो व्यक्तिगत हतियार सरह प्रयोग गरिने रक्षा मन्त्री आह्न ग्यू–ब्याकले बताए । उनका अनुसार सुरक्षा जोखिमलाई ध्यानमा राख्दै सबै प्रणाली चिनियाँ पार्ट्स बिना पूर्ण रूपमा घरेलु उत्पादनमा आधारित हुनेछ ।
मन्त्रालयले यो निर्णय युक्रेन र पश्चिम एशियाका युद्धहरूबाट सिकिएको पाठसँग सम्बन्धित भएको जनाएको छ । यी युद्धमा सस्तो र ठुलो संख्यामा प्रयोग गरिने ड्रोनहरूले युद्धको स्वरूप नै परिवर्तन गरिदिएका छन् । उत्तर कोरिया पनि ड्रोन प्रविधिमा तीव्र रूपमा अघि बढिरहेको छ, जसले दक्षिण कोरियाका सैन्य तथा नागरिक संरचनाहरूलाई थप जोखिममा पार्न सक्ने चेतावनी दिँदै मन्त्रीले भने ।
दक्षिण कोरियाले लेजर र हाई–पावर माइक्रोवेभ हतियारजस्ता काउन्टर–ड्रोन प्रणाली विस्तार गर्ने योजना पनि बनाएको छ । साथै, प्रत्येक सैन्य शाखाले केन्द्रीय कमान्डमा निर्भर नभई आफैं ड्रोनबाट निगरानी र आक्रमण सञ्चालन गर्न सक्ने व्यवस्था गरिनेछ । यस बाहेक पनि २० हजार भन्दा कम लागतका एक पटक प्रयोग हुने ड्रोन, एआईमा आधारित स्वार्म (झुण्ड) प्रणाली, र लक्षित क्षेत्रमा घुम्ने हतियार पनि भित्र्याइनेछ ।