फारसी खाडीको प्रवेशद्वार मानिने स्ट्रेट अफ होर्मुजमा नियन्त्रणलाई लिएर बढ्दो विवादले इरान र अमेरिकाबिच युद्ध अन्त्यका लागि भइरहेको व्यापक वार्तालाई प्रभावित गर्ने संकेत देखिएको छ ।
पछिल्ला तीन दिनयता होर्मुज हुँदै यात्रा गरिरहेका दुई जहाजमाथि इरानले आक्रमण गरेपछि अमेरिका र इरानले एकअर्कामाथि सैन्य कारबाही गरेका छन् । इरानले स्ट्रेट अफ होर्मुजबाट आवतजावत गर्ने जहाजहरूले आफ्नो अनुमति लिएर तोकिएको समुद्री मार्ग प्रयोग गर्नुपर्ने अडान राख्दै आएको छ । तर पछिल्लो समय धेरै जहाजहरूले ओमानको तटसँगै रहेको वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन्, जसले जलमार्गमाथिको इरानको प्रभाव कमजोर पार्न सक्ने विश्लेषण गरिएको छ ।
समुद्री विश्लेषण संस्था विन्डवार्डका अनुसार बिहीबार होर्मुजबाट १८ वटा जहाज खाडीभित्र प्रवेश गरेका थिए भने ४५ वटा जहाज बाहिरिएका थिए । तीमध्ये खाडीबाट बाहिरिने आधाभन्दा बढी जहाजले ओमानतर्फको दक्षिणी मार्ग प्रयोग गरेका थिए । यसैबिच, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका बन्दरगाहहरूमा धेरै ठुला कच्चा तेल बोक्ने ट्याङ्करहरू होर्मुज पार गर्ने तयारीमा रहेको जानकारी पनि सार्वजनिक भएको छ ।
तर बिहीबार ओमानको खाडीमा एक मालवाहक जहाजमाथि आक्रमण भएपछि अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ)ले उक्त वैकल्पिक मार्गको प्रयोग अस्थायी रूपमा स्थगित गरेको छ । युनाइटेड अगेन्स्ट ए न्यूक्लियर इरानका समुद्री विश्लेषकहरूका अनुसार दक्षिणी समुद्री मार्गको प्रयोग बढ्नुको कारण बारुद हटाउने (डिमाइनिङ) कार्यका कारण मार्ग विस्तार हुनु र व्यावसायिक जहाजहरूमा त्यस मार्गप्रति बढ्दो विश्वास हो ।
तर बिहीबारको जहाज आक्रमण र जुन २५ मा इरानी रिभोलुसनरी गार्ड (आईआरजीसीले दक्षिणी मार्ग हुँदै गइरहेका केही तेल ट्याङ्करहरूलाई फर्किन निर्देशन दिएपछि जहाजहरूको आवतजावत पुनः सुस्त भएको विश्लेषकहरूले बताएका छन् ।
आइतबार इरानी रिभोलुसनरी गार्डले जारी गरेको विज्ञप्तिमा ‘इस्लामाबाद समझदारी’अनुसार होर्मुज जलडमरूमध्यबाट हुने जहाजहरूको आवतजावत र नियन्त्रणको अधिकार इस्लामिक गणतन्त्र इरानसँग रहेको दाबी गरिएको छ । ‘अबदेखि नियम उल्लंघन गर्ने जहाजहरूमाथि पहिलेभन्दा अझ कडा कारबाही गरिनेछ,’ विज्ञप्तिमा चेतावनी दिँदै भनिएको छ ।