अमेरिकी विदेश मन्त्रालयले गैर-आप्रवासी (Non-Immigrant) भिसा आवेदन प्रक्रियालाई थप सहज बनाउन नयाँ प्रिमियम अन्तर्वार्ता सेवा (Premium Interview Scheduling Service) सुरु गर्ने घोषणा गरेको छ। यो सेवा जुलाई १ देखि डिसेम्बर ३१, २०२६ सम्म परीक्षण (Pilot Program) का रूपमा सञ्चालन हुनेछ।
नयाँ व्यवस्थाअनुसार, नियमित भिसा आवेदन शुल्कबाहेक अतिरिक्त ७५० अमेरिकी डलर तिर्ने योग्य आवेदकले १० कार्यदिवसभित्र भिसा अन्तर्वार्ताको मिति प्राप्त गर्न सक्नेछन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार यो सुविधा सबै देश वा सबै अमेरिकी दूतावास तथा कन्सुलर कार्यालयमा एकैपटक लागू हुने छैन। कुन–कुन दूतावासमा यो सेवा उपलब्ध हुनेछ भन्ने सूची छुट्टै सार्वजनिक गरिनेछ।
यो सेवा विशेषगरी लामो समयसम्म अन्तर्वार्ताको मिति कुर्नुपर्ने विदेशी भिसा आवेदकलाई लक्षित गरेर ल्याइएको हो। पछिल्ला वर्षहरूमा विभिन्न देशका अमेरिकी दूतावासमा भिसा अन्तर्वार्ताको प्रतीक्षा अवधि निकै लामो हुँदै गएको थियो।
यद्यपि, अमेरिकी विदेश मन्त्रालयले अतिरिक्त ७५० डलर शुल्क तिर्दैमा भिसा स्वीकृत हुने कुनै ग्यारेन्टी नरहेको स्पष्ट पारेको छ। यो शुल्क केवल छिटो अन्तर्वार्ताको मिति उपलब्ध गराउने सेवाका लागि मात्र हुनेछ। भिसा स्वीकृति वा अस्वीकृति भने आवेदकको योग्यता, कागजात, अन्तर्वार्ता र अमेरिकी अध्यागमन कानुनअनुसार नै निर्धारण हुनेछ।
अमेरिकी अधिकारीहरूका अनुसार यो कार्यक्रम सफल भए भविष्यमा अन्य अमेरिकी दूतावास तथा कन्सुलर कार्यालयमा समेत विस्तार गर्ने सम्भावना रहेको छ।
यस सेवाबाट अध्ययन, पर्यटन, व्यवसाय, सम्मेलन तथा अन्य गैर-आप्रवासी भिसाका लागि आवेदन दिने विदेशी नागरिकले आवश्यकता अनुसार अतिरिक्त शुल्क तिरेर छिटो अन्तर्वार्ता लिन सक्ने विकल्प प्राप्त गर्नेछन्।