स्ट्रेट अफ होर्मुजमा शुल्क उठाउने प्रस्ताव ओमानले गर्‍यो अस्वीकार

आप्रवासन आप्रवासन

 

ओमानका विदेशमन्त्री बद्र बिन हमद अलबुसाइदीले स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाजहरूबाट आवागमन शुल्क उठाउने पक्षमा आफ्नो देश नरहेको स्पष्ट पारेका छन् ।

फ्रान्सेली रेडियो मोन्टे कार्लाे डुआलियासँगको अन्तर्वार्तामा उनले ओमानले जहाजबाट अनिवार्य आवागमन शुल्क लगाउने प्रस्तावलाई समर्थन नगर्ने बताएका हुन् ।

उक्त अन्तर्वार्ताका मुख्य अंश उनको मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको छ । यद्यपि, उनले समुद्री, वातावरणीय तथा नौवहनसम्बन्धी सेवाहरू उपलब्ध गराएबापत शुल्क लिन सकिने सम्भावनालाई भने खुला राखेका छन् । अलबुसाइदीका अनुसार यस्ता सेवा शुल्क सम्बन्धित देश वा जहाज सञ्चालन गर्ने कम्पनीहरूसँग स्वेच्छिक सहमतिका आधारमा छलफल गरेर तय गर्न सकिन्छ ।

सम्भावित सेवाहरूमा जहाजको सुरक्षित आवागमन सुनिश्चित गर्ने, समुद्री प्रदूषणबाट जलक्षेत्रको संरक्षण गर्ने, दुर्घटना वा आपत्कालीन अवस्थाको सामना गर्न तयारी सुदृढ बनाउने जस्ता कार्यहरू समावेश हुन सक्ने उनले बताए । विदेशमन्त्री अलबुसाइदीले स्ट्रेट अफ मलक्का र स्ट्रेट अफ सिङ्गापुरमा अपनाइएका व्यवस्थापन मोडेलबाट पनि प्रेरणा लिन सकिने उल्लेख गरेका छन् ।