इरानले विश्वकप यात्रा दुःख, जटिल व्यवस्थापन, राजनीतिक तनाव र निराशाबिच समूह चरणबाटै टुङ्गियो ।
यद्यपि, मेक्सिकोमा पाएको आत्मीय आतित्थ्यता भने उसको उत्तर अमेरिकी यात्राको एउटा सुखद पक्ष बन्यो । तीन सातासम्म आफ्नो आधार शिविर रहेको तिजुआनाबाट टोली बिदा हुँदा सीमावर्ती सहरका समर्थकहरूले भावुक बिदाइ गरे ।
शनिबार अस्ट्रियाले अल्जेरियाविरुद्ध अन्तिम क्षणमा बराबरी गोल गरेपछि इरान तेस्रो स्थान प्राप्त गर्ने उत्कृष्ट आठ टोलीहरूको सूचीबाट बाहिरिएसँगै विश्वकपबाटै बाहिरिन बाध्य भयो ।
शुक्रबार इजिप्टसँग १–१ को बराबरी खेलेपछि नै इरानले नकआउट चरणमा पुग्ने आफ्नो भाग्यमाथिको नियन्त्रण गुमाएको थियो । त्यो खेल पनि निकै नाटकीय रह्यो । अन्तिम क्षणमा इरानले गरेको सम्भावित विजयी गोल भिडियो सहायक रेफ्री (भिएआर) को जाँचपछि अफसाइड ठहर गरिएपछि अस्वीकार गरिएको थियो ।
यसरी केवल २४ घण्टाको अन्तरालमै इरानको नकआउट चरण पुग्ने सपना पूर्ण रूपमा समाप्त भयो ।
युद्धको प्रभाव विश्वकप यात्रामै
संयुक्त राज्य अमेरिका र इजरायलबिच इरानलाई लक्षित युद्धले फिफा विश्वकप २०२६ मा टोली ‘मेल्ली’ (इरानी राष्ट्रिय टोली) को सम्पूर्ण व्यवस्थापनलाई प्रत्यक्ष रूपमा प्रभावित गर्यो ।
प्रतियोगिता सुरु हुनुअघि नै भिसासम्बन्धी सम्भावित समस्याको आशंकाका कारण इरानले आफ्नो आधार शिविर अमेरिकाको एरिजोनाबाट मेक्सिकोको तिजुआनामा सार्नुपरेको थियो ।
कडा व्यवस्थापकीय सीमाबन्दीका कारण अमेरिकामा हुने प्रत्येक खेल सकिएको केही घण्टामै टोलीलाई मेक्सिको फर्किन बाध्य पारिएको थियो । इरानले आफूविरुद्ध सक्रिय युद्धमा संलग्न देश अमेरिकाबाट आफ्ना खेल अन्यत्र सार्न बारम्बार आग्रह गरे पनि त्यसलाई स्वीकार गरिएको थिएन ।
तिजुआनामा आत्मीय स्वागत
तर इरान तिजुआना पुगेको पहिलो दिनदेखि नै मेक्सिकोले टोलीलाई खुलेर स्वागत ग¥यो । समूह चरणका प्रत्येक खेलअघि र खेलपछि टोली बस्ने होटेलबाहिर सयौँ समर्थकहरू भेला हुन्थे । उनीहरू पोस्टर बोकेर खेलाडीहरूको हस्ताक्षर लिन तथा उनीहरूलाई प्रत्यक्ष भेट्न लामो समयसम्म प्रतीक्षा गर्थे ।
तीन साताको बसाइँमा इरानी टोली र मेक्सिकन समर्थकबिच गहिरो प्रेम र सम्मानको सम्बन्ध विकसित भयो । त्यो सम्बन्ध सामाजिक सञ्जालमार्फत विश्वभर फैलियो र धेरैले मैदानबाहिरका कठिन परिस्थितिका बिच ‘मेल्ली’ टोलीलाई समर्थन गरे ।
सामाजिक सञ्जालमार्फत नै टोलीको मिडिया विभागले मेक्सिकोका नागरिकप्रति विशेष धन्यवाद व्यक्त ग¥यो । मेक्सिकोस्थित इरानी दूतावासले एक्समा प्रकाशित सन्देशमा भन्यो, ‘हाम्रो टोलीको खेल यात्रा मात्र होइन, यहाँ बसाइका क्रममा हाम्रो प्रतिनिधिमण्डलले भोग्नुपरेको अन्यायपूर्ण र खेल भावना विपरीतको व्यवहारलाई पनि निष्पक्ष रूपमा प्रस्तुत गर्नुभएकोमा तपाईंहरूलाई धन्यवाद ।’
सन्देशमा तिजुआनाका बासिन्दाप्रति विशेष आभार व्यक्त गर्दै उनीहरूले देखाएको उदारता र साँचो आतिथ्यले आफूहरूलाई आफ्नै घरमा भएको अनुभूति दिलाएको उल्लेख गरिएको थियो ।
सन्देशमा भनिएको छ, ‘हामी सबैका लागि तिजुआना छोड्नु साँच्चिकै कठिन छ । यहाँ बनेका सम्झनाहरू, गाँसिएका मित्रता र पाएको माया इरानी राष्ट्रिय टोलीका प्रत्येक सदस्यको मनमा सधैँ रहिरहनेछ । धन्यवाद, र भविष्यमा फेरि हाम्रो भेट होस् भन्ने आशा गर्छौँ ।’
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा इरानी खेलाडीहरू तिजुआनामा समर्थकहरूसँग भेट्दै, विश्वकपका बल र फुटबलको ‘स्टिकर पुस्तक’मा हस्ताक्षर गर्दै तथा फोटो खिचाउँदै गरेको देखिन्थ्यो ।
मेक्सिकाका लागि इरानका राजदूत अबोलफाज्ल पसान्दिदेह तथा इरान फुटबल महासंघका महासचिव हेदायत मोम्बेइनीले पनि समर्थक तथा सञ्चारकर्मीसँग भेट गर्दै मेक्सिकोको आतिथ्यप्रति धन्यवाद व्यक्त गरे । साराजेभोस्थित इरानी दूतावासले पनि मेक्सिकोले इरानलाई सम्मानपूर्वक आतिथ्य दिएकोमा धन्यवाद दिँदै अमेरिकाले टोलीसँग गरेको व्यवहारको आलोचना गरेको थियो ।
एक्समा प्रकाशित सन्देशमा भनिएको थियो, ‘भविष्यका आयोजक राष्ट्र छनोट गर्दा फिफाले अझ बढी सावधानी अपनाउनुपर्छ । आयोजक राष्ट्र मानवीय सिद्धान्तप्रति प्रतिबद्ध र त्यसको योग्य हुनुपर्छ ।’
इरान र मेक्सिकोबीच विकसित भएको आत्मीय सम्बन्धले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पनि भावुक बनायो । धेरैले इरानी समर्थकहरूले मेक्सिकोले प्रतियोगितामा धेरै माथिसम्म यात्रा गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
इरानको टोली तिजुआना छोड्ने दिन त्यो भावना चरममा पुगेको थियो । टोलीको होटेलबाहिर धेरै समर्थकहरू ‘इरानी दाजुभाइ, अब तिमी पनि मेक्सिकन हौ’ लेखिएका बेसबल टोपी लगाएर उभिएका थिए । उनीहरू आफ्ना प्रिय पाहुनालाई अन्तिम बिदाइ दिन प्रतीक्षारत थिए ।