अमेरिका र इरानका अधिकारीहरूबिच कतारको राजधानी दोहामा अप्रत्यक्ष तथा तल्लो तहको प्राविधिक वार्ता भइरहेको छ ।
वार्ताबारे जानकारी राख्ने एक कूटनीतिक स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार दुवै देशका प्रतिनिधिहरू प्रत्यक्ष रूपमा आमनेसामने बसेका छैनन् । वार्ता कतार र पाकिस्तानका मध्यस्थकर्तामार्फत अघि बढाइएको छ ।
स्रोतका अनुसार अमेरिकी विशेष दूत स्टिभ विटकफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर भने वार्तामा प्रत्यक्ष सहभागी छैनन् । उनीहरूले मंगलबार कतारका प्रधानमन्त्रीसँग भेट गरी अप्रत्यक्ष वार्ताका लागि आवश्यक आधार तयार पार्ने विषयमा छलफल गरेका थिए ।
यद्यपि वार्ताको एजेन्डा वा सम्भावित सहमतिबारे कुनै आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।