अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

आप्रवासन आप्रवासन

 

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा कडाइ गरेसँगै संयुक्त राज्य अमेरिकाले उष्णकटिबन्धीय प्रशान्त क्षेत्रको थोरै जनसङ्ख्या भएको टापु राष्ट्र पलाउमा आप्रवासीहरूलाई निर्वासन गर्न थालेको पलाउले बुधबार जनाएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाबाट शरण खोज्नेहरू र कागजातविहीन आप्रवासीहरूलाई एल साल्भाडोर र युगान्डालगायतका स्थानमा पठाउन पनि दबाब दिइरहेको जनाइएको छ। सानो भूगोल भएको प्रशान्त राष्ट्र पलाउसँग अमेरिकाले गत डिसेम्बरमा ७५ लाख अमेरिकी डलर सहयोगको बदलामा निर्वासितहरूलाई पुनर्स्थापित गर्न सहमति गरेको थियो।

पलाउका राष्ट्रपति सुरान्जेल ह्विप्सको कार्यालयले फिलिपिन्सबाट करिब ८०० किलोमिटर पूर्वमा रहेका कोरल एटोललगायतका स्थानमा निर्वासितहरू आइपुगेको जनाएको छ। ह्विप्सले डिसेम्बरमा हस्ताक्षर समारोहमा पुनर्स्थापना सम्झौतालाई पलाउ र संयुक्त राज्य अमेरिकाका लागि सफलताको रूपमा प्रशंसा गरेका थिए। संयुक्त राज्य अमेरिकाको निर्देशनअनुसार निर्वासित मानिसहरूलाई मद्दत गरी आवश्यक मार्गदर्शन गर्ने उनले बताएका छन्। साथै, उनीहरूले पलाउमा रोजगारी पाउने र खुसी हुने आशा पनि उनले व्यक्त गरेका छन्। सम्झौताअनुसार सबै निर्वासितहरूको आपराधिक रेकर्डसहित पलाउले कसलाई स्वीकार गर्ने र कसलाई नगर्ने भन्ने विषयमा पूर्ण छनोटको अधिकार राख्ने बताइएको छ।

सम्झौताअनुसार यसको सट्टामा संयुक्त राज्य अमेरिकाले पलाउलाई सार्वजनिक सेवा सञ्चालन तथा पूर्वाधार विकासका लागि चार करोड ७५ लाख अमेरिकी डलर सहयोग गर्नेछ। यद्यपि आलोचकहरूले यस विषयमा चिन्ता व्यक्त गर्दै संयुक्त राज्य अमेरिकाले पलाउजस्ता राष्ट्रहरूलाई अनावश्यक आप्रवासीहरूका लागि ‘डम्पिङ ग्राउन्ड’ का रूपमा प्रयोग गरेको आरोप लगाएका छन्। अमेरिकी विदेश विभागका प्रवक्ताले ट्रम्प प्रशासन अवैध र सामूहिक आप्रवासन अन्त्य गर्ने तथा अमेरिकाको सीमा सुरक्षालाई सुदृढ पार्ने प्रतिबद्धतामा अडिग रहँदै यो प्रक्रिया अघि बढाइरहेको बताएका छन्। सामान्य अभ्यासअनुसार अन्य सरकारसँगको निजी कूटनीतिक सञ्चारको विवरणमा टिप्पणी नगर्ने अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।

सयौँ ज्वालामुखी टापु र कोरल एटोलमा फैलिएको करिब २० हजार जनसङ्ख्या भएको पलाउ जनसङ्ख्याका आधारमा विश्वकै सबैभन्दा सानो देशमध्ये एक हो। साथै, यो लामो समयदेखि प्रशान्त क्षेत्रमा संयुक्त राज्य अमेरिकाको सबैभन्दा नजिकको सहयोगी रहँदै आएको छ। पलाउले सन् १९९४ मा स्वतन्त्रता प्राप्त गरे पनि अमेरिकी सेनालाई लामो समयदेखि कायम रहेको ‘कम्प्याक्ट अफ फ्रि एसोसिएसन’ सम्झौताअन्तर्गत आफ्नो क्षेत्र प्रयोग गर्न अनुमति दिइरहेको छ। यसको बदलामा संयुक्त राज्य अमेरिकाले पलाउलाई सयौँ करोड डलर आर्थिक सहयोग उपलब्ध गराउने तथा यसको राष्ट्रिय रक्षाको जिम्मेवारी लिने सम्झौता भएको जनाइएको छ।