अमेरिकी नौसेनाको एमएच–६०एस सी हक हेलिकोप्टर अरब सागरमा आकस्मिक रूपमा पानीमा अवतरण गरेपछि एक चालकदल सदस्य बेपत्ता भएका छन् । अमेरिकी नौसेनाको केन्द्रीय कमान्ड सेन्टकमका अनुसार हेलिकोप्टर यूएसएस जर्ज एच डब्ल्यु. बुस विमानवाहक युद्धपोतमा तैनाथ थियो । हेलिकोप्टरले आपत्कालीन अवस्थाका कारण समुद्रमा अवतरण गर्नुपरेको जनाइएको छ ।
नौसेनाले घटनामा कुनै पनि आक्रमण वा शंकास्पद गतिविधिको संकेत नदेखिएको स्पष्ट पारेको छ । हेलिकोप्टरमा रहेका चार चालकदल सदस्यमध्ये तीन जनालाई सकुशल उद्धार गरिएको छ । उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको र उनीहरूलाई यूएसएस जर्ज एच. डब्ल्यु. बुसमा राखिएको अमेरिकी नौसेनाले जनाएको छ ।
बेपत्ता रहेका अर्का चालकदल सदस्यको खोजीका लागि अमेरिकी नौसेनाले अरब सागर क्षेत्रमा खोज तथा उद्धार अभियान जारी राखेको छ । हेलिकोप्टर किन आकस्मिक रूपमा समुद्रमा अवतरण गर्न बाध्य भयो भन्ने कारण अझै खुल्न सकेको छैन । अमेरिकी नौसेनाले घटनाबारे औपचारिक अनुसन्धान सुरु गरिएको जनाएको छ ।