फ्रान्सको भिसा प्रक्रिया

फ्रान्सको भिसा प्रक्रिया कठिन, विदेशीहरू ठगिँदै

आप्रवासन आप्रवासन

फ्रान्सको बसोबास अनुमति Residence Permit वा नागरिकता लिने सपना देखिरहनु भएको छ ? त्यसो भए अहिलेको अवस्था बुझ्नु आवश्यक छ । फ्रान्समा हाल वैध तरिकाबाट भिसा प्रक्रिया गर्न झनै गाह्रो भएको छ, जसका कारण विदेशीहरू बिचौलियाको चपेटामा परिरहेका छन् ।

नि:शुल्क रूपमा पाइने अपोइन्टमेन्ट लिन गाह्रो भएपछि आवेदकहरू बाध्य भएर बिचौलिया कम्पनीहरूमा जान थालेका छन् । ती कम्पनीहरूले बसोबास अनुमतिको अपोइन्टमेन्टका लागि ८ सय युरोसम्म लिने गरेका छन् ।

नागरिकता आवेदनमा त झन् १२ सय युरोसम्म लिइँदै छ । धेरै आवेदकहरूलाई रकम तिरे पनि आवेदन अस्वीकृत भएको छ र पैसा पनि फिर्ता नपाएका घटनाहरू छन् ।

फ्रान्सको गृह मन्त्रालयले यस्तो ठगीमा परेका सबैलाई आफ्नो केस रिपोर्ट गर्न अनुरोध गरेको छ। साथै, कानुनी रूपमा दर्ता भएका सेवा प्रदायकहरूबाट मात्र सेवा लिन आग्रह गरिएको छ ।

फ्रान्सले छिट्टै नै बसोबास अनुमतिका लागि भाषा परीक्षा अनिवार्य गर्ने तयारी गरेको छ । जसमा लामो समयको भिसाको लागि उच्च भाषा दक्षताका लागि लिखित परीक्षामा पास हुन आवश्यक हुनेछ । यदि यो नियम लागू भएमा अनुमानित ६० हजार बढी आप्रवासीले भाषा परीक्षा पास गर्न नसके फ्रान्समा बस्न पाउने छैनन् ।