व्यक्तिगत कारणले पाइलटले विमानलाई गगनचुम्बी भवनमा ठोक्काएको चीनको निष्कर्ष

आप्रवासन आप्रवासन

 

चीनको राजधानी बेइजिङस्थित सबैभन्दा अग्लो गगनचुम्बी भवन सिटिक टावर (चाइना जुन)मा गत साता सानो विमान ठोक्काउने पाइलटले व्यक्तिगत कारणले उक्त घटना गराएको सरकारी अनुसन्धानले निष्कर्ष निकालेको छ । 

बेइजिङको चाओयाङ जिल्ला प्रशासनले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार ६६ वर्षीय पाइलट लिउ दीर्घकालीन अनिद्रा (इन्सोम्निया) र चिन्ताको समस्याबाट पीडित थिए।  उनी सम्बन्धविच्छेद भएका, एक्लै बस्ने स्वतन्त्र पेशामा आबद्ध व्यक्ति थिए । अनुसन्धानका क्रममा फेला परेको उनको डायरीमा आत्महत्या गर्ने चाहना व्यक्त गरिएका धेरै टिपोट भेटिएको प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार घटनामा पाइलट लिउको मृत्यु भएको थियो भने अन्य १३ जना घाइते भएका थिए । घाइतेमध्ये एक जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । सरकारी बयानमा व्यक्तिगत कारणले सार्वजनिक सुरक्षामा खतरा पुर्‍याएको घटना भएको निष्कर्ष निकालिएको छ । घटनापछि विमान भवनमा ठोक्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । तर सुरक्षा निकायले अनुसन्धान सुरु गरेसँगै ती भिडियो तथा तस्बिरहरू चिनियाँ सामाजिक सञ्जालबाट हटाइएको बताइएको छ ।

१०९ तले सिटिक टावर चिनियाँ कम्युनिस्ट पार्टीको मुख्यालय झोङनानहाइबाट केही किलोमिटरको दूरीमा अवस्थित छ । स्थानीयवासीले यस भवनलाई शुभ प्रतीकका रूपमा समेत हेर्ने गरेका छन् । घटनापछि चीनका कम्तीमा तीनवटा उड्डयन कम्पनीलाई हल्का विमानको उडान अस्थायी रूपमा स्थगित गर्न निर्देशन दिइएको बीबीसीले जनाएको छ ।

अनुसन्धानअनुसार दुर्घटनाको दिन लिउले बेइजिङको पिङगु जिल्लास्थित विमानस्थलबाट उडान भरेका थि ए। निर्धारित क्षेत्रमा प्रशिक्षण उडान गरेपछि एकल उडानका क्रममा उनले तोकिएको मार्ग छाडेका थिए । त्यसपछि विमानस्थलसँग सम्पर्क विच्छेद भएको र केही समयपछि विमान सिधै सिटिक टावरमा ठोक्किएको थियो ।

अधिकारीहरूका अनुसार लिउले सन् २०२१ मा स्पोर्ट पाइलट लाइसेन्स र सन् २०२४ मा निजी पाइलट लाइसेन्स प्राप्त गरेका थिए । उनले उडाएको विमान चिनियाँ कम्पनी सनवार्ड एयरक्राफ्टले बनाएको दुई सिटे, एक इन्जिन भएको अरोरा एसए६०एल मोडेलको थियो । यस विमानलाई खास गरेर भ्रमण, हवाई फोटोग्राफी र मनोरञ्जनात्मक उडानका लागि प्रयोग गरिन्छ ।