प्रिन्सेस क्रुज जहाजमा नोरोभाइरस सङ्क्रमण, १२५ जना बिरामी

आप्रवासन आप्रवासन

 

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार प्रिन्सेस क्रुजको रुबी प्रिन्सेस नामक क्रुज जहाजमा नोरोभाइरसको प्रकोप फैलिँदा १२५ जना बिरामी परेका छन् ।

सीडीसीले जनाएअनुसार बिरामी हुनेमा १०२ यात्रु र २३ जना चालक दलका सदस्य रहेका छन् । जहाजले जुन १२ मा सान फ्रान्सिस्कोबाट यात्रा सुरु गरेको थियो ।

सङ्क्रमित अधिकांशमा पखाला र बान्ता मुख्य लक्षणका रूपमा देखिएको छ । नोरोभाइरस विशेषगरी क्रुज जहाजजस्ता सीमित स्थानमा मानिसहरू नजिकिनु, साझा भोजनस्थलको प्रयोग तथा धेरैले छुने सतहका कारण छिट्टै फैलिने भाइरस मानिन्छ । स्वास्थ्य अधिकारीहरूका अनुसार भाइरसको सम्पर्कमा आएको १२ देखि ४८ घण्टाभित्र लक्षण देखिन सुरु हुने भएकाले यस्तो वातावरणमा सङ्क्रमण तीव्र रूपमा फैलिन सक्छ ।

यो २० दिने समुद्री यात्रा अलास्का र क्यानडाका विभिन्न क्षेत्रको भ्रमणपछि निर्धारित समयअनुसार बिहीबार सान फ्रान्सिसकाे फर्किएको थियो । प्रिन्सेस क्रुजले सङ्क्रमित यात्रु र चालक दलका सदस्यलाई तत्काल अलग्गै राखिएको तथा जहाजभरि सरसफाइ र कीटाणुनाशक प्रयोगको मापदण्ड कडा बनाइएकाले नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गएको जनाएको छ ।

कम्पनीका अनुसार जहाज गन्तव्यमा पुगेपछि अर्को यात्रामा निस्कनुअघि सम्पूर्ण जहाजको व्यापक सरसफाइ र पूर्ण कीटाणुनाश गरिनेछ । सीडीसीका अनुसार यस वर्ष हालसम्म क्रुज जहाजमा फैलिएका पेटसम्बन्धी रोगका सात वटा प्रकोप सार्वजनिक सूचना जारी गर्नुपर्ने मापदण्डमा पुगेका छन् ।