इजरायलले यस वर्षको सुरुमा अमेरिका–इरानबिच तनाव अन्त्य गर्ने उद्देश्यले भइरहेको वार्ताका क्रममा इरानका प्रमुख वार्ताकारहरूको हत्या गर्ने योजना बनाएको अमेरिकी सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।
द न्यूयोर्क टाइम्स र द वासिङ्टन पोस्टले नाम नखुलाइएका अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इजरायलले इरानी विदेशमन्त्री अब्बास अराघची तथा इरानका प्रमुख वार्ताकार एवं संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफलाई निशाना बनाउने योजना बनाएको जनाएको हो ।
द वासिङ्टन पोस्टसँग कुरा गरेका एक अमेरिकी अधिकारीका अनुसार, ‘यदि उनीहरूलाई मारिएको भए वार्ता र कूटनीतिक समाधानको पक्षमा रहेका व्यावहारिक नेताहरू नै समाप्त हुने थिए,’ । द न्यूयोर्क टाइम्सका अनुसार अमेरिकी प्रशासनले सम्भावित जोखिमबारे इरानलाई सचेत गराउन मध्यपूर्वका केही देशमार्फत सन्देश पठाएको थियो । यी दाबीबारे इजरायल वा इरानले तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।
समाचारमा इजरायलले क्षेत्रीय द्वन्द्व अन्त्यका लागि भइरहेका वार्तालाई प्रभावित पार्ने उद्देश्यले वार्तामा संलग्न पक्षलाई यसअघि पनि निशाना बनाएको उल्लेख गरिएको छ । गत अक्टोबरमा इजरायली सेनाले दोहामा रहेको हमासको एक परिसरमा आक्रमण गरेको थियो । उक्त समयमा हमासका अधिकारीहरूले इजरायलसँग प्रस्तावित युद्धविराम सम्झौताबारे अध्ययन गरिरहेका थिए ।