युक्रेनका सेनाले गए राति रूसको उत्तरपश्चिमी सहर सेन्ट पिटर्सबर्गस्थित एउटा प्रमुख तेल टर्मिनलमा ड्रोन आक्रमण गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
जेलेन्स्कीले उक्त तेल टर्मिनललाई रूसको युद्ध सञ्चालनका लागि आम्दानी जुटाउने महत्वपूर्ण पूर्वाधार भनेका छन् । युक्रेनले सेन्ट पिटर्सबर्ग क्षेत्रको एक प्रमुख रुसी नौसैनिक अड्डालाई पनि निशाना बनाइएको दाबी गरेको छ ।
उता, सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्जेन्डर बेग्लोभले पनि सहरमाथि ठूलो परिमाणमा ड्रोन आक्रमण भएको स्वीकार गर्दै तेल टर्मिनलमा क्षति पुगेको पुष्टि गरेका छन् । तर घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ । हालका महिनाहरूमा युक्रेनले रूसको ऊर्जा पूर्वाधारमाथि लामो दूरीका ड्रोन आक्रमण तीव्र पारेको छ । ती आक्रमणका कारण रूसमा इन्धन आपूर्तिमा व्यापक समस्या उत्पन्न भएको युक्रेनको दाबी छ ।
युक्रेनी पक्षका अनुसार हालसम्म उसको सेनाले रूसको करिब ४३ प्रतिशत तेल प्रशोधन क्षमता निष्क्रिय पारेको छ । यद्यपि, यो दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । युक्रेनले रूसका तेल तथा ग्यास पूर्वाधारहरू वैध सैन्य लक्ष्य भएको बताउँदै आएको छ । उसका अनुसार रूसले जीवाश्म इन्धनको निर्यातबाट प्राप्त आम्दानी प्रयोग गरेर सन २०२२ को फेबुअरीदेखि युक्रेनविरुद्धको पूर्णस्तरीय आक्रमणलाई निरन्तरता दिइरहेको छ ।
यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध शुरु भएयता पहिलो पटक गत साता युक्रेनी आक्रमणका कारण इन्धन अभाव भएको कुरास्वीकार गरेका थिए । शनिबार उनले घरेलु बजारमा इन्धन आपूर्ति बढाउने उद्देश्यले तयार पारिएको नयाँ कानुनमा हस्ताक्षर गरेका छन् ।