ट्रम्पको पोस्टरमा ढुंगा हान्दै निस्कियो खामेनीको अन्त्येष्टिमा विशाल शवयात्रा

आप्रवासन आप्रवासन

 

 इरानका दिवंगत सर्वोच्च नेता आयतुल्ला अली खामेनीको अन्त्येष्टि समारोहअन्तर्गत सोमबार राजधानी तेहरानमा विशाल शवयात्रा निकालिएको छ ।

हजारौं शोकाकुल नागरिक सहभागी भएको उक्त शवयात्राका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रतिशोधको नारा लगाइएको थियो । इरानको सरकारी टेलिभिजनले सार्वजनिक गरेको ड्रोन दृश्यमा तेहरानको मुख्य सडकमा दशौं हजार मानिसको उपस्थिति देखिएको छ । खामेनी र उनका परिवारका चार सदस्यको शव राखिएको ट्रकलाई राजधानीका विभिन्न सडक हुँदै घुमाइएको थियो । अत्यधिक गर्मीका कारण सहभागीहरूलाई शीतल बनाउन दमकलका फोहराबाट माथिबाट पानी छर्किएको थियो । 

शवयात्रा एउटा पुलमुनि पुग्दा सहभागीहरूले पुलमा झुन्ड्याइएको अमेरिकी राष्ट्रपति ट्रम्पको तस्बिर भएको पोस्टरतर्फ ढुंगा प्रहार गरेका थिए । उक्त पोस्टरमा ट्रम्पको टाउकोतर्फ गोली लक्षित गरिएको चित्र बनाइएको थियो भने त्यसमा ‘अमेरिकाले हाम्रो पिताको हत्या गर्‍यो, हामी तिमीलाई छाड्ने छैनौं’ भन्ने सन्देश लेखिएको थियो । शवयात्रामा सहभागीहरूले इरानी राष्ट्रिय झण्डासँगै रातो ब्यानर बोकेका थिए । ती ब्यानरमा ‘खामेनीका प्रतिशोधीहरू’लाई सम्बोधन गरिएको नारा लेखिएको थियो । यो नारा इस्लामको शिया परम्परामा पैगम्बर मोहम्मदका नाति इमाम हुसैनको बलिदानसँग जोडिएको ऐतिहासिक भावनाबाट प्रेरित मानिन्छ ।

यसअघि आइतबार तेहरानस्थित एक ठूलो प्रार्थना भवनमा खामेनीका तीन छोराले उनको शवअघि प्रार्थना गरेका थिए । तर उनका उत्तराधिकारी तथा वर्तमान सर्वोच्च नेता मोज्तबा खामेनी भने सार्वजनिक रूपमा देखिनन् । इरानी सञ्चारमाध्यमका अनुसार फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा घाइते भएका मोज्तबाको अनुहारमा गम्भीर चोट लागेको विश्वास गरिएको छ । युद्ध सुरु भएयता उनी एक पटक पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् ।

खामेनीको शोक कार्यक्रम गत शुक्रबारदेखि सुरु भएको थियो । प्रारम्भिक समारोहमा खामेनी, उनकी एक छोरी, १४ महिनाकी नातिनी, एक ज्वाइँ तथा मोज्तबाकी पत्नीको शव सरकारी अधिकारी र विदेशी प्रतिनिधिमण्डलका लागि राखिएको थियो । शनिबार र आइतबार पनि तेहरानमा सार्वजनिक श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको थियो । यस साताको अन्त्यतिर खामेनीको शवलाई इरानको धार्मिक सहर कोम तथा छिमेकी इराकका दुई प्रमुख शिया तीर्थस्थलमा श्रद्धाञ्जलिका लागि लगिनेछ । त्यसपछि शवलाई इरानको मशहदस्थित ऐतिहासिक धार्मिक परिसरमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ ।

गत महिना भएको प्रारम्भिक शान्ति सम्झौतापछि इरान–अमेरिका–इजरायलबिचको युद्ध औपचारिक रूपमा रोकिएको भए पनि क्षेत्रीय तनाव अझै कायम छ । इरानी नेतृत्वले आफूले विजय हासिल गरेको दाबी गर्दै स्ट्रेट अफ होर्मुजमार्फत विश्व ऊर्जा आपूर्तिमा प्रभाव कायम राख्न सफल भएको जनाएको छ ।

उता राष्ट्रपति ट्रम्पले पनि युद्धमा अमेरिकाले आफ्नो उद्देश्य पूरा गरेको दाबी गरेका छन् । तर इरानको आणविक कार्यक्रम ध्वस्त पार्ने, क्षेप्यास्त्र क्षमता समाप्त गर्ने तथा इरानी नेतृत्व परिवर्तनका लागि वातावरण बनाउने प्रारम्भिक लक्ष्य भने अझै पूरा हुन बाँकी रहेको विश्लेषण गरिएको छ । ट्रम्पले सप्ताहन्तमा इरानसँग हुने शान्ति वार्ता अन्त्येष्टि कार्यक्रमका कारण एक साताका लागि स्थगित भएको बताएका थिए ।

यसैबिच इजरायलका रक्षामन्त्री इजरायल काट्जले सोमबार खामेनी इजरायलविरुद्धको योजना सञ्चालन गरेका कारण मारिएको दाबी गर्दै भविष्यमा पनि इजरायललाई नष्ट गर्ने प्रयास गर्ने कुनै पनि इरानी नेतालाई उस्तै कारबाही गरिने चेतावनी दिएका छन् ।