श्रीलंकाको नेगोम्बो कारागारमा भएको भीषण झडपमा कम्तीमा २० जनाको मृत्यु भएको छ । यस घटनामा अरू १०० भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ ।
राजधानी कोलम्बोबाट करिब ३५ किलोमिटर उत्तरमा रहेको नेगोम्बो कारागारमा आइतबार सुरु भएको हिंसा सोमबारसम्म जारी रहेको स्थानीय सञ्चारमाध्यम र प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अस्पताल स्रोतका अनुसार मृत्यु हुनेमा १६ जना कैदी र चार जना कारागारका सुरक्षाकर्मी रहेका छन् । नेगोम्बो अस्पतालका निर्देशक पुष्पा गमलाथका अनुसार अस्पतालमा २३ वटा शव ल्याइएको छ भने एक सयभन्दा बढी घाइते कैदी र सुरक्षाकर्मी उपचारका लागि भर्ना भएका छन् । श्रीलंका प्रहरीका प्रवक्ता चन्दना हेराथले कारागारभित्र झडप भएको र त्यसमा मानवीय क्षति भएको पुष्टि गरेका छन् । तर घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
झडपको कारण तत्काल खुल्न सकेको छैन । सुरक्षा निकायले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । स्थानीय टेलिभिजन देराना टिभीले प्रसारण गरेको दृश्यमा कारागार बाहिर ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको देखिन्छ । घाइते कैदीहरूलाई प्रहरी बसमार्फत अस्पताल लगिएको र कतिपय घाइते बसको भुइँमै लडिरहेको दृश्य पनि प्रसारण गरिएको थियो । घटनापछि नेगोम्बो कारागार र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अधिकारीहरूले हिंसा पूर्ण रूपमा नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको बताएका छन् ।