ओमानको तट नजिक स्ट्रेट अफ होर्मुजमा यात्रा गरिरहेको एक ट्याङ्करमा प्रक्षेप्य प्रहार भएपछि आगलागी भएको बेलायतको सेनाले जनाएको छ । मंगलबार बिहान भएको उक्त घटना स्ट्रेट अफ होर्मुजबाट गुज्रिरहेका जहाजमाथि भएको पछिल्लो आक्रमण हो ।
अमेरिका–इजरायल र इरानबिच फेब्रुअरी अन्त्यतिर युद्ध सुरु हुनुअघि विश्वभर खपत हुने झन्डै २० प्रतिशत तेल र प्राकृतिक ग्यास यही जलमार्गबाट ओसारपसार हुने गर्थ्यो ।
इरानी सरकारी टेलिभिजनका अनुसार तरलीकृत प्राकृतिक ग्यास (एलएनजी बोकेको उक्त ट्यांकरले इरानको चेतावनी बेवास्ता गरेपछि आक्रमणमा परेको हो । तर तेहरानले घटनाको जिम्मेवारी भने प्रत्यक्ष रूपमा लिएको छैन । इरानले यसअघि पनि होर्मुज जलडमरूमध्यमा आफूले स्वीकृत गरेको मार्ग मात्रै सुरक्षित रहेको बताउँदै आएको छ । ओमानको तट नजिकको वैकल्पिक समुद्री मार्ग प्रयोग गर्ने अन्य जहाजमाथि पनि इरानले आक्रमण गरेको आशंका रहँदै आएको छ ।
बेलायतको यूके म्यारिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ)का अनुसार ट्यांकर ओमानको लिमाह नजिक प्रहारमा परेको हो । स्ट्रेट अफ होर्मुजबाट दक्षिणतर्फ गल्फ अफ ओमानतर्फ जाँदै गर्दा ट्यांकरको बायाँ भागमा प्रक्षेप्य लागेको जनाएको छ ।