विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । अमेरिकाले इरानमा नयाँ हवाई आक्रमण गरेर कच्चा तेलको विक्रीमा प्रतिबन्ध लगाएपछि बुधबारको कारोबारमा कच्चा तेलको भाउ झन्डै २ प्रतिशतले बढेको हो ।
पश्चिम एशियामा तनाव चुलिँदै गएपछि तेल आपूर्तिमा पुनः असर पर्न सक्ने चिन्ता बढेको छ । स्ट्रेट अफ होर्मुजमा इरानले तीन व्यवसायी जहाजमा आक्रमण गरेपछि अमेरिकाले इरानमाथि व्यापक आक्रमण गरेको थियो ।
लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजमा बुधबार ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १ डलर ३८ सेन्टले बढेर ७५ डलर ५४ सेनटमा पुगेको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा १ दशमलव ९ प्रतिशत धेरै हो । त्यस्तै, न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) क्रुडको मूल्य पनि १ डलर ३७ सेन्टको वृद्धिसहित प्रतिब्यारेल ७१ डलर ८१ सेन्टमा पुगेको छ । यो पनि अघिल्लो दिन बजार बन्द हुँदा खेरिको तुलनामा १ दशमलव ९ प्रतिशत धेरै हो । कारोबारको सुरुआती चरणमा डब्लुटीआईको मूल्य एक समय २ दशमलव ८ प्रतिशतसम्म बढेको थियो ।
इरानी आक्रमणपछि मंगलबार अमेरिकाले इरानी कच्चा तेलको बिक्रीलाई अनुमति दिने सामान्य इजाजतपत्र रद्द गरेपछि मंगलबार दुवै बेन्चमार्कहरू लगभग ३ प्रतिशतले बढेका थिए । हालको आगलागीले बजारलाई स्ट्रेट अफ होर्मुज हुँदै जाने बाटो अझै कति कमजोर छ भन्ने कुराको सम्झना गराएको बजार विश्लेषक संस्था एमएसटी मार्कीका अनुसन्धान प्रमुख साउल काभोनिकले भने ।
उनका अनुसार बजारमा तेलको अत्यधिक आपूर्ति हुने अपेक्षाबिच अहिलेको तनावले विपरीत संकेत दिएको छ । यसले तेलको मूल्य घट्ने अनुमानमा लगानी गरेका केही व्यापारीहरूलाई आफ्नो रणनीति परिवर्तन गर्न बाध्य बनाउन सक्छ ।
तनाव लामो समयसम्म कायम रहेर स्ट्रेट अफ होर्मुजबाट हुने जहाज आवागमन युद्धअघिको स्तरको ५० प्रतिशतभन्दा कममै सीमित रहे विश्व बजारमा तेल आपूर्ति खुम्चिन सक्ने र त्यसले कच्चा तेलको मूल्य अझै बढ्न सक्ने काभोनिकले बताए । गएको महिना इरान र अमेरिकाबिच युद्धविराम सम्झौता भएपछि तेलको भाउ घटेर इरान युद्ध पूर्वको स्तरमा झरेको थियो ।