अमेरिकाद्वारा इरानमा व्यापक हवाई हमला

आप्रवासन आप्रवासन

 

स्ट्रेट अफ होर्मुजमा तीनवटा तेल ट्याङ्करमाथि भएको आक्रमणपछि अमेरिकाले इरानका दर्जनौँ सैन्य लक्ष्यमा शक्तिशाली हवाई आक्रमण गरेको छ । अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम)ले मंगलबार ८० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको जनाएको छ ।

सेन्टकमका अनुसार आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)का स्टे«ट अफ होर्मुज क्षेत्रमा रहेका ६० भन्दा बढी साना डुङ्गा, क्षेप्यास्त्र प्रक्षेपण स्थल तथा सैन्य कमाण्ड केन्द्रहरूलाई निशाना बनाइएको छ । कुन–कुन स्थानमा आक्रमण गरिएको हो भन्ने विवरण भने सेन्टकमले सार्वजनिक गरेको छैन ।

इरानका उपविदेशमन्त्रीले अमेरिकी कारबाहीलाई गत महिना अमेरिका र इरानबिच भएको समझदारी सम्झौताको उल्लङ्घन भएको बताएका छन् । उनले तेहरानले आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न निर्णायक कदम चाल्ने चेतावनी दिएका छन् । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमण केश्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा भएको छ। आक्रमणका क्रममा विस्फोटका छर्राबाट केही सर्वसाधारण घाइते भएको जनाइएको छ ।

तीन तेल ट्याङ्करमाथि भएको आक्रमणको जिम्मेवारी इरानले औपचारिक रूपमा स्वीकार गरेको छैन । अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दाेष नागरिकले सञ्चालन गरिरहेका व्यावसायिक जहाजमाथिको आक्रमणलाई पूर्ण रूपमा अस्वीकार्य भन्दै त्यसको मूल्य चुकाउनुपर्ने जनाएको छ । सेन्टकमले आफ्नो कारबाही व्यावसायिक जहाजहरूलाई लक्षित गरिएका आक्रमणको जवाफस्वरूप गरिएको स्पष्ट पारेको छ ।

यसअघि अमेरिकी अर्थमन्त्रालयले इरानमाथिको तेल प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाउने व्यवस्था पनि रद्द गरेको थियो । उक्त व्यवस्था अमेरिका र इरानबिच गत महिना भएको समझदारीको एक हिस्सा थियो । इरानको विदेश मन्त्रालयले भने अमेरिकाको उक्त निर्णयलाई सम्झौताको उल्लङ्घन भन्दै वासिङ्टनको दोहोरिएको अविश्वसनीय र असंगत व्यवहारको प्रमाण भएको प्रतिक्रिया दिएको छ ।

आक्रमण भएपनि अमेरिकी अधिकारीहरूले भने अन्तिम सम्झौताका लागि इरानसँग कूटनीतिक वार्ता जारी रहने बताएका छन् । एक अमेरिकी अधिकारीका अनुसार वासिङ्टनले अझै पनि सद्भावपूर्वक वार्तालाई अगाडि बढाउने नीति कायम राखेको छ ।