चीनको दक्षिणी गुआङ्सी क्षेत्रमा आएको भीषण बाढीपछि सहरभरि सयौँ विषालु सर्प फैलिँदा स्थानीयवासी त्रसित बनेका छन् ।
राज्य सञ्चारमाध्यमका अनुसार मायसाक आँधी पछि आएको बाढीमा हालसम्म ३९ जनाको मृत्यु भएको छ । गुआङ्सी क्षेत्रको हेङझोउ सहरमा एउटा सर्प पालन केन्द्रबाट करिब ९०० वटा सर्प बाढीले बगाएको अनुमान गरिएको छ । तीमध्ये धेरै विषालु रहेको अधिकारीहरूले बताएका छन् । एक महिलाको कोब्रा सर्पको टोकाइबाट मृत्यु भएको छ भने अन्य केही व्यक्तिलाई पनि सर्पले टोकेको राज्य सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा सर्पहरू बाढीको पानीमा पौडिँदै सडकभरि घुमिरहेको देखिन्छ । यसपछि स्थानीय प्रशासनले सर्वसाधारणलाई बाढीको पानीमा विषालु सर्प हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । अधिकारीहरूले सर्प समात्ने टोली परिचालन गरेका छन्, अस्पतालहरूमा एन्टिभेनम औषधिको मौज्दात बढाइएको छ र स्वास्थ्यकर्मीहरूलाई सम्भावित सर्पदंशका बिरामीको उपचारका लागि तयारी अवस्थामा राखिएको छ ।
बाढीका कारण अन्य जनावरहरू पनि बगाएका छन् । एउटा निजी चिडियाखानाबाट दुई वटा जेब्रा, एउटा कुम भएको गोरु, तीन वटा साना घोडा, दुई वटा गधा, अस्ट्रिच, इमु र र्याकुन लगायतका जनावर भागेका छन् । चिडियाखानाले ती जनावर देखेमा तुरुन्त जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ । चिडियाखानाका सञ्चालक यिन फेइफेइका अनुसार कर्मचारीहरूले आफ्नै ज्यान जोखिममा राखेर हिंस्रक जनावरका खोर सुरक्षित बनाएका थिए । तर बाढीका कारण तीन वटा सिंहको मृत्यु भएको उनले बताएका छन् ।
बाढीले १६ हजारभन्दा बढी सुँगुर पनि बगाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा भारी उपकरण प्रयोग गरेर बाढीबाट सुँगुरको उद्धार गरिएको देखिएको छ । हेङझोउ चिया र सर्पका लागि लोकप्रिय स्थान हो । भियतनामसँग सीमा जोडिएको गुआङ्सी क्षेत्रमा १०० भन्दा बढी प्रजातिका सर्प पाइन्छन् । सन २०२० सम्म यहाँ करिब दुई करोड सर्प र १४ हजारभन्दा बढी सर्प पालन केन्द्र रहेको गुआङ्सी डेलीले जनाएको थियो । अहिले अधिकांश सर्प औषधि तथा जैविक अनुसन्धानका लागि पालन गरिन्छ। यहाँ मुख्य रूपमा कोब्रा र र्याट स्नेक पालन गरिन्छ । र्याट स्नेक विषालु हुँदैन भने कोब्राको टोकाइ ज्यानका लागि घातक हुन सक्छ ।
स्थानीय सर्प समात्ने टोलीका सदस्य झूका अनुसार सात–आठ जनाको टोलीले दुई दिनमै दुई हजारदेखि तीन हजारसम्म सर्प समातेको छ । अधिकांश र्याट स्नेक रहेको उनले बताएका छन् । उनका अनुसार बाढीपछि सर्पहरू प्रायः घरका कुनाकाप्चा तथा लुकेका स्थानमा आश्रय लिन्छन् । स्थानीयवासीले जानकारी दिएपछि टोलीले सर्प समातेर सम्बन्धित निकायलाई जिम्मा लगाउने गरेको छ ।
स्थानीय सरकारले राति बाहिर ननिस्कन, झाडी तथा पोखरी नजिक नजान र घर वरिपरि सर्प भगाउने चिज प्रयोग गर्न सर्वसाधारणलाई सुझाव दिएको छ । सिन्ह्वाका अनुसार स्थानीय अस्पतालहरूमा पर्याप्त मात्रामा एन्टिभेनम उपलब्ध छ, तर सर्पले टोकेपछि समयमै उपचार प्राप्त गर्न सकेमा मात्र त्यसले प्रभावकारी रूपमा काम गर्नेछ । बाढीको पानी घट्दै गए पनि सहरभरि फैलिएका सर्पको जोखिम अझै कायम रहेको अधिकारीहरूले बताएका छन् ।