स्ट्रेट अफ होर्मुज नजिक आगलागी भएको कन्टेनर जहाजका चालकदलको उद्धार

आप्रवासन आप्रवासन

 

स्ट्रेट अफ होर्मुज नजिक क्षतिग्रस्त भई आगलागी भएको कन्टेनर जहाजका चालकदलका सबै सदस्यको सकुशल उद्धार गरिएको बेलायतको यूके मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले जनाएको छ । 

यूकेएमटीओका अनुसार जहाजमा क्षति पुगेपछि चालकदलले लाइफबोटमार्फत जहाज छाडेका थिए । त्यसपछि स्थानीय अधिकारीहरूले उनीहरूको सुरक्षित उद्धार गरेका हुन् । जहाजका कम्पनी सेक्युरिटी अफिसर (सीएसओ)ले आइतबार बिहान चालकदलको उद्धार भएको जानकारी यूकेएमटीओलाई दिएका थिए ।

यसअघि यूकेएमटीओले ओमानको पूर्वी समुद्री क्षेत्रमा यात्रा गरिरहेको कन्टेनर जहाजको पछाडिको भागमा क्षति पुगेपछि आगलागी भएको जनाएको थियो । उता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले अनधिकृत मार्ग प्रयोग गरेर हर्मुज जलडमरूमध्य पार गर्न खोजेको जहाजतर्फ चेतावनीस्वरूप गोली प्रहार गरेपछि स्ट्रेट अफ होर्मुज बन्द गरिएको दाबी गरेको थियो ।

आईआरजीसीले साइप्रसको झण्डा बोकेको एक कन्टेनर जहाजमाथि प्रत्यक्ष आक्रमण गरेको आरोप यसैबीच, अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले लगाएको छ । सेन्टकमका अनुसार उक्त घटनामा एक चालकदल सदस्य बेपत्ता भएका छन् । तर, यूकेएमटीओले उद्धार भएको जहाज र सेन्टकमले उल्लेख गरेको साइप्रस(झण्डावाहक जहाज एउटै हो वा होइन भन्ने कुरा हालसम्म पुष्टि भएको छैन ।