स्ट्रेट अफ होर्मुज नजिक व्यावसायिक कन्टेनर जहाजमाथि भएको आक्रमणपछि एक भारतीय नागरिक बेपत्ता भएका छन् । सो घटनामा अन्य १० भारतीय नागरिकको सकुशल उद्धार गरिएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार जीएफएस ग्यालेक्सी नामक साइप्रसको झण्डा बोकेको कन्टेनर जहाज ओमानको तट नजिक आक्रमणमा परेको थियो । उद्धार गरिएका १० भारतीय नागरिकलाई सुरक्षित स्थानमा लगिएको छ भने बेपत्ता व्यक्तिको खोजी जारी छ । यसअघि अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले स्ट्रेट अफ होर्मुज पार गरिरहेको जीएफएस ग्यालेक्सी जहाजमाथि प्रत्यक्ष आक्रमण गरेको आरोप लगाएको थियो ।
सेन्टकमका अनुसार आक्रमणपछि जहाजमा आगलागी भएको, इन्जिन कक्षमा ठुलो क्षति पुगेको र जहाजले आफ्नो यात्रा जारी राख्न नसक्ने अवस्था सिर्जना भएको छ । साथै, एक चालक दलका सदस्य बेपत्ता रहेको पनि सेन्टकमले जनाएको छ । भारतको विदेश मन्त्रालयले उक्त आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय कानुनअनुसार स्ट्रेट अफ होर्मुजमा स्वतन्त्र, सुरक्षित र अवरोधरहित जलयात्रा तथा व्यापार सुनिश्चित हुनुपर्ने जनाएको छ । मन्त्रालयले विज्ञप्तिमार्फत यस क्षेत्रमा व्यावसायिक जहाज र नागरिक पूर्वाधारलाई निशाना बनाउने कार्य तत्काल अन्त्य हुनुपर्ने पनि उल्लेख गरेको छ ।