संयुक्त अरब इमिरेट्स (युएई) जान चाहने नेपाली पर्यटक वा आफन्त भेट्न चाहने व्यक्तिहरूले अब भिजिट भिसा आवेदन गर्नुअघि केही महत्वपूर्ण मापदण्डहरू पुरा गर्न आवश्यक छ ।
दुबईलगायत युएईका विभिन्न शहरहरू भ्रमण गर्न चाहने नेपालीहरूलाई सजिलो बनाउने उद्देश्यले युएईका ट्राभल विज्ञहरूले हालै आवेदन गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण जानकारी सार्वजनिक गरेका छन् ।
-नाबालकका लागि बाबुआमाको विवरण अनिवार्य: १८ वर्षभन्दा कम उमेरका बालबालिकाको लागि भिसा आवेदन गर्दा दुबै बाबु–आमाको नाम, राहदानी विवरण र लिखित सहमति समावेश गर्नुपर्नेछ । यस्ता विवरण नदिएमा आवेदन स्वतः अस्वीकृत हुने गरेको छ ।
-एकै व्यक्तिको लागि दोहोरो आवेदन नगर्नुहोस्: कुनै व्यक्तिको भिसा आवेदन प्रक्रियामा छ भने दोहोरो आवेदन नदिनु उपयुक्त हुन्छ। अघिल्लो आवेदन प्रोसेसमा रहँदा नयाँ आवेदनले गम्भीर समस्या निम्त्याउन सक्छ।
-युएईबाट फर्किएपछि तुरुन्तै नयाँ आवेदन नगरौं: Regal Tours का ट्राभल सुपरभाइजर हुशाम कट्टिङ्गेरीका अनुसार, यदि तपाईं ३० दिनको पर्यटक भिसामा युएई गइ फर्किनुभएको छ भने कम्तिमा ३० दिन पर्खिएर मात्र नयाँ भिसा आवेदन दिनु उपयुक्त हुन्छ।
भिजिट भिसा आवेदन गर्दा अनिवार्य कागजातहरू
1. छ महिनाभन्दा बढी समय बाँकी रहेको पासपोर्ट)
2. युएई मापदण्डअनुसारको पासपोर्ट साइज फोटो
3. रिटर्न टिकटको प्रमाण – फर्किने उडानको कन्फर्म बुकिङ
4. बसोबासको प्रमाण – होटल बुकिङ वा युएईमा बस्ने आफन्तको ठेगाना
5. आर्थिक प्रमाण – बैंक स्टेटमेन्ट वा कम्तीमा AED 2,500–3,000 बराबरको नगद
6. प्रिन्ट गरिएका कागजातहरू – सबै कागजातको प्रिन्टेड प्रतिलिपि साथमा राख्नु अनिवार्य