इरानको संसद्ले चार महिनापछि पहिलोपटक सार्वजनिक बैठक आयोजना गरेको छ ।
बैठकमा आपत्कालीन अवस्थामा भर्चुअल माध्यमबाट संसद् सञ्चालन गर्न सकिने व्यवस्था गर्ने नियम संशोधन पारित गरिएको छ भने स्ट्रेट अफ होर्मुजको व्यवस्थापनसम्बन्धी नयाँ विधेयक पनि दर्ता गरिएको छ । सोमबार साँझ बसेको बैठकमा २५५ सांसद सहभागी भएका थिए । फेब्रुअरी २८ पछि पहिलोपटक संसद्को सार्वजनिक बैठक बसेको हो ।
बैठकमा संसद्को अध्यक्ष मण्डलका एक सदस्यले स्ट्रेट अफ होर्मुज र फारसी खाडीको सुरक्षा तथा दिगो विकास सुनिश्चित गर्न रणनीतिक कदमसम्बन्धी विधेयक औपचारिक रूपमा संसद्मा दर्ता भएको घोषणा गरेका थिए । सांसदहरूले त्यसपछि संसद्को कार्यविधि नियमावलीको धारा १ संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल गरी पारित गरेका छन् ।
संशोधनको सिद्धान्तगत प्रस्ताव २११ मतको समर्थन, ३५ मतको विरोध र दुई मत तटस्थ रहँदा पारित भएको थियो । अन्तिम प्रस्ताव भने २१० मतको समर्थन, ३० मतको विरोध र चार मत तटस्थ रहँदा स्वीकृत भएको छ ।
संशोधित व्यवस्थाअनुसार आपतकालीन अवस्था वा असाधारण राष्ट्रिय परिस्थितिका कारण सांसदहरू संसद्को स्थायी भवनमा उपस्थित हुन नसक्ने अवस्था आएमा अध्यक्ष मण्डलको निर्णयपछि वैकल्पिक स्थान वा भर्चुअल माध्यमबाट पूर्ण बैठक सञ्चालन गर्न सकिनेछ ।
यसअघि सार्वजनिक बैठक नभए पनि संसद्ले चार महिनाको अवधिमा मन्त्रीहरूसँग आठवटा भर्चुअल बैठक गरेको थियो भने संसदीय समितिहरूले विधेयकको अध्ययन र सरकारी कामकारबाहीको निगरानी नियमित रूपमा जारी राखेका थिए ।