स्ट्रेट अफ होर्मुजनजिक ओमानको तटमा तीन तेल ट्यांकरमाथि आक्रमण

आप्रवासन आप्रवासन

 

बेलायती समुद्री सुरक्षा निकाय युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ)ले ओमानको तट नजिक तीनवटा तेल ट्यांकरमाथि मिसाइल तथा अज्ञात वस्तुद्वारा आक्रमण भएको रिपोर्ट प्राप्त भएको जनाएको छ ।

यूकेएमटीओका अनुसार स्ट्रेट अफ होर्मुजबाट दक्षिणी समुद्री मार्ग हुँदै बाहिरिने क्रममा ओमानको लिमाह तट नजिक दुई ट्यांकर मिसाइल आक्रमणको निशानामा परेका थिए। यी दुवै घटनाको रिपोर्ट जुलाई १३ मा प्राप्त भए पनि आक्रमण भएको यकिन समय भने सार्वजनिक गरिएको छैन। घटनाबारे सम्बन्धित निकायहरूले अनुसन्धान गरिरहेका छन्।

यसैबीच, ओमानको कालहात तटको पूर्वी समुद्री क्षेत्रमा अर्को एक ट्यांकरमाथि पनि सोमबार राति अज्ञात वस्तुले आक्रमण गरेको रिपोर्ट प्राप्त भएको छ। यूकेएमटीओका अनुसार उक्त ट्यांकरका कप्तानले जहाजको दायाँ इन्जिन कक्षमा अज्ञात वस्तु ठोक्किएको जानकारी दिएका छन्। घटनामा सबै चालकदल सदस्य सुरक्षित रहेका छन् भने कुनै वातावरणीय क्षति भएको छैन।

यसअघि संयुक्त अरब इमिरेट्स (यूएई)को रक्षा मन्त्रालयले मुम्बासा र अल बहियाह नामका दुई ट्यांकर ओमानको समुद्री क्षेत्रमा होर्मुज जलडमरूमध्य पार गर्ने क्रममा इरानी क्रुज मिसाइलको निशानामा परेको जनाएको थियो। उक्त आक्रमणमा एक भारतीय चालकदल सदस्यको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए। घाइतेमध्ये छ जना भारतीय र दुई जना युक्रेनी नागरिक रहेका छन्। यूकेएमटीओले उल्लेख गरेका ट्यांकर र यूएईले नाम सार्वजनिक गरेका मुम्बासा तथा अल बहियाह एउटै जहाज हुन् वा होइनन् भन्ने विषय भने अझै स्पष्ट भएको छैन।