स्ट्रेट अफ होर्मुज हुँदै सञ्चालन हुने जहाजहरूमा भारतीय नागरिकलाई नाविक (सीफेरर) का रूपमा नखटाउन भारत सरकारले जहाज सञ्चालक, जहाज व्यवस्थापन कम्पनी र भर्ती एजेन्सीहरूलाई निर्देशन दिएको छ।
भारतको डाइरेक्टरेट जनरल अफ शिपिङले जारी गरेको आदेशमा अर्को सूचना जारी नभएसम्म स्ट्रेट अफ होर्मुज भएर सञ्चालन हुने जहाजहरूमा भारतीय नाविक नपठाउन भनिएको छ।
यो निर्णय यसै साता इरानले गरेको आक्रमणमा होर्मुज तथा आसपासका क्षेत्रमा रहेका दुई जहाजमा कार्यरत दुई भारतीय नाविकको मृत्यु भएपछि गरिएको हो। ‘फारसी खाडी क्षेत्रमा सुरक्षा अवस्था अत्यन्त संवेदनशील बनेकाले त्यहाँ सञ्चालन हुने जहाजमा कार्यरत भारतीय नाविकहरूको सुरक्षाका लागि थप सावधानी अपनाउन आवश्यक ठानिएको छ,’ निर्देशनमा भनिएको छ।
यसअघि संयुक्त राष्ट्रसंघले गत महिना सार्वजनिक गरेको विवरणअनुसार, फेब्रुअरी २८ देखि अमेरिका–इजरायल र इरानबीचको युद्ध सुरु भएयता स्ट्रेट अफ होर्मुज र त्यस आसपास भएका आक्रमणमा कम्तीमा १४ जना नाविकको मृत्यु भएको छ। तीमध्ये जुन ९ मा ओमानको तट नजिक अमेरिकी आक्रमणमा परेको ‘सेट्टेबेलो’ तेल ट्यांकरमा कार्यरत तीन भारतीय चालक दलका सदस्य पनि मारिएका थिए।