भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
नेपाल भ्रमणमा रहेका अतिरिक्त सचिव महावरले परराष्ट्र मन्त्रालयमा पुगेर सचिव राईसँग भेटवार्ता गरेका हुन्। भेटमा दुई देशबीच सञ्चालनमा रहेका द्विपक्षीय सहयोग परियोजनाहरूको प्रगति समीक्षा गर्नुका साथै प्राथमिकतामा रहेका क्षेत्रहरूमा साझा एजेन्डालाई अघि बढाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार नेपाल–भारतबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने, संस्थागत सहकार्यलाई अझ प्रगाढ बनाउने तथा उच्चस्तरीय संलग्नताको निरन्तरता कायम राख्ने उपायबारे पनि दुवै पक्षबीच विचारविमर्श भएको थियो।
दुवै पक्षले आगामी दिनमा पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई अझ प्रभावकारी र सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा दुई देशबीच हुने उच्चस्तरीय भ्रमणका विषयमा पनि छलफल भएको बताइएको छ।
यसअघि भारतका विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण तय भए पनि उक्त भ्रमण स्थगित भएको थियो। अहिले भारतबाट हुने आगामी उच्चस्तरीय भ्रमणबारे पनि छलफल भएको स्रोतले जनाएको छ।
नेपाल भ्रमणका क्रममा अतिरिक्त सचिव महावरले परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।