रक्षामन्त्री हटाएपछि जेलेन्स्कीविरुद्ध युक्रेनमा प्रदर्शन, सेनाभित्र पनि असन्तुष्टि

आप्रवासन आप्रवासन

 

 युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले व्यापक सरकार पुनर्गठनका क्रममा रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदबाट हटाएपछि देशभर विरोध प्रदर्शन सुरु भएको छ ।

सेनाभित्र पनि यस निर्णयप्रति असन्तुष्टि देखिएको छ । केवल ६ महिनाअघि रक्षामन्त्री नियुक्त भएका ३५ वर्षीय फेडोरोभ हालै रुसविरुद्ध सैन्य सफलताका प्रमुख योजनाकारमध्ये एक मानिन्थे । सैनिकहरूको तलब वृद्धि, अग्रपंक्तिमा कार्यरत सैनिकहरूको पालो परिवर्तन (रोटेसन) सुधार तथा आधुनिक सैन्य प्रविधिको प्रयोगका कारण उनी सैनिकहरूमाझ लोकप्रिय थिए ।

यसअघि डिजिटल रूपान्तरण मन्त्री रहेका फेडोरोभले युक्रेनका स्टार्टअप कम्पनीहरूसँग मिलेर आधुनिक ड्रोन प्रविधिको विकासलाई तीव्र बनाएका थिए । उनको नेतृत्वमा विकसित ड्रोनहरूले रूसका तेल प्रशोधन केन्द्र, पाइपलाइन तथा क्रिमियासम्मका सैन्य लक्ष्यहरूमा सफल आक्रमण गरेका थिए । युक्रेनको हालको ड्रोन रणनीतिलाई रूसमाथिको दबाब बढाउने महत्त्वपूर्ण कारण मानिन्छ । पदमुक्त भएपछि आयोजित पत्रकार सम्मेलनमा फेडोरोभले युक्रेनी सेनाका प्रमुख जनरल ओलेक्सान्दर सिस्र्कीमाथि कडा आरोप लगाए ।

उनले भने, ‘निर्णयहरू तथ्यका आधारमा होइन, निष्ठाका आधारमा भइरहेका छन् । परिवर्तनलाई योजनाबद्ध रूपमा रोकिएको छ र निरन्तर झूट बोलिएको छ ।’  उनले थप आरोप लगाउँदै भने, ‘देशलाई रूसमाथि कसरी विजय दिलाउने भन्ने सोच्नुपर्नेमा सेनाप्रमुखले देशलाई विभाजित गर्ने काम गरेका छन् । सिस्र्कीले मात्र अग्रपंक्ति जोगाउन सक्छन् भन्ने धारणा भ्रम मात्र हो ।’

राष्ट्रपति जेलेन्स्कीले सरकार पुनर्गठनबारे विस्तृत कारण सार्वजनिक गरेका छैनन् । रक्षामन्त्री हटाउनुअघि फेडोरोभसँग लामो छलफल गरेका उनले रक्षा मन्त्रालय र सेनाबिच एकरूपता आवश्यक रहेको बताएका थिए । ‘हामीलाई एकता चाहिन्छ । रक्षा मन्त्रालय र सेनाको दृष्टिकोण एउटै हुनुपर्छ,’  उनले भने । फेडोरोभको बर्खास्तीको विरोध गर्दै युक्रेनी वायुसेनाका उपकमाण्डर तथा चर्चित ड्रोन इकाइका कमान्डर पाभ्लो येलिजारोभले पनि पदबाट राजीनामा दिएका छन् ।

उनले फेडोरोभ हटाउनुलाई देशको रक्षा क्षमताका लागि ठुलो क्षति भनेका छन् । बिहीबार राजधानी किभमा सयौँ नागरिक, विशेषगरी युवा, सडकमा उत्रिएर फेडोरोभको बर्खास्तीको विरोध गरेका थिए । प्रदर्शनकारीहरूले आधुनिक ड्रोन प्रणाली विकास गरेर सैनिकको ज्यान जोगाउन योगदान दिएका व्यक्तिलाई हटाउनु अनुचित भएको बताएका छन् ।

यता, फेडोरोभलाई हटाइएको केही घण्टापछि रूसले किभमा मिसाइल आक्रमण गरेको थियो । उक्त आक्रमणमा एक किशोरसहित दुई जनाको मृत्यु भएको युक्रेनको आपत्कालीन सेवाले जनाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार जुन महिना अप्रिल २०२२ यताकै सबैभन्दा बढी नागरिक हताहती भएको महिना बनेको छ ।

लामो दूरीका रुसी मिसाइल आक्रमणले आवासीय क्षेत्रमा व्यापक क्षति पुर्‍याइरहेको छ । यसैबीच, जेलेन्स्कीले युक्रेनको कमजोर बन्दै गएको हवाई प्रतिरक्षा प्रणाली सुदृढ बनाउन प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणालीलगायत थप सैन्य सहयोग उपलब्ध गराउन पश्चिमी सहयोगी राष्ट्रहरूसँग पुनः आग्रह गरेका छन् ।