‘इनसाइडर ट्रेडिङ’को आरोपपछि ट्रम्पका टेलिप्रम्प्टर अपरेटरमाथि छानबिन

आप्रवासन आप्रवासन

 

लामो समयदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेलिप्रम्प्टर सञ्चालन गर्दै आएका गेब्रियल पेरेजमाथि सम्भावित इनसाइडर ट्रेडिङ (गोप्य सूचनाको दुरुपयोग गरी आर्थिक लाभ लिने कार्य) गरेको आरोपमा अनुसन्धान सुरु भएको छ। 

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार अमेरिकी कमोडिटी फ्युचर्स ट्रेडिङ कमिसन (सीएफटीसी)ले पेरेजले काल्शी नामक भविष्यवाणी बजारमा गरेको कारोबारमाथि छानबिन गरिरहेको छ।

अनुसन्धानसँग परिचित स्रोतहरूका अनुसार पेरेजले ट्रम्पका भाषणमा प्रयोग हुने शब्द वा वाक्यांशबारे बाजी लगाइने ‘मेन्सन मार्केट’मा कारोबार गरेका थिए। उनी ट्रम्पका भाषणहरू सार्वजनिक हुनुअघि नै हेर्न पाउने सीमित व्यक्तिमध्ये एक भएकाले गोप्य जानकारीको दुरुपयोग भएको आशंका गरिएको हो । स्रोतहरूका अनुसार ती कारोबारबाट पेरेजले ९० हजार अमेरिकी डलरभन्दा बढी नाफा कमाएको भनिए पनि उक्त रकम हाल रोक्का गरिएको छ।

काल्शीले आफ्नो निगरानी टोलीले शंकास्पद कारोबार फेला पारेपछि त्यसबारे सीएफटीसीलाई जानकारी गराएको जनाएको छ। कम्पनीले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको पनि बताएको छ। यद्यपि सीएफटीसीले अनुसन्धान भइरहेको वा नरहेको विषयमा पुष्टि वा खण्डन गर्न अस्वीकार गरेको छ। ट्रम्प यस घटनाबारे जानकार रहेको र उनले यसलाई दुर्भाग्यपूर्ण र लज्जास्पद मानेको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बताइन् । उनका अनुसार पेरेजलाई बेतलबी प्रशासनिक बिदामा राखिएको छ र ट्रम्पको पछिल्लो राष्ट्रसम्बोधनका लागि अर्को व्यक्तिले टेलिप्रम्प्टर सञ्चालन गर्नेछ।

यसअघि ह्वाइट हाउसले आफ्ना कर्मचारीलाई गोप्य सरकारी जानकारी प्रयोग गरेर भविष्यवाणी बजारमा कारोबार नगर्न स्पष्ट निर्देशन दिएको थियो । मार्चमा जारी आन्तरिक निर्देशनमा सरकारी कर्मचारीद्वारा गैरसार्वजनिक सूचना प्रयोग गरी आर्थिक लाभ लिनु गम्भीर कसुर हुने उल्लेख गरिएको थियो । पेरेज करिब एक दशकदेखि ट्रम्पसँग नजिक रहेर काम गर्दै आएका छन्। उनी राष्ट्रपति ट्रम्पका भाषण अन्तिम रूपमा हेर्ने थोरै सहयोगीमध्ये एक हुन् र उनको वार्षिक तलब १ लाख ७५ हजार अमेरिकी डलर रहेको बताइएको छ।