अमेरिकाद्वारा इरानको चाबहार समुद्री नियन्त्रण टावरमा तेस्रोपटक आक्रमण

आप्रवासन आप्रवासन

 

अमेरिकाले इरानको दक्षिणपूर्वी बन्दरगाह सहर चाबहारस्थित समुद्री नियन्त्रण टावरमा यसै साता तेस्रो पटक क्षेप्यास्त्र आक्रमण गरेको दाबी इरानी सरकारी सञ्चारमाध्यमहरूले गरेका छन् । सरकारी समाचार संस्था फार्स न्युज र आईआरआईबीका अनुसार आक्रमण क्षेप्यास्त्रमार्फत गरिएको हो ।

उक्त नियन्त्रण टावर मुख्य रूपमा समुद्रमा रहेका माछा मार्ने डुङ्गाको खोज तथा उद्धार (सर्च एन्ड रेस्क्यु) कार्य सञ्चालन गर्न तथा समुद्री सुरक्षाको निगरानी गर्न प्रयोग हुँदै आएको बताइएको छ ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल एक्समा उक्त टावर ढलिरहेको देखिने एउटा तस्बिर सेयर गरेका छन् । उनले यसअघि ‘इरानले होर्मुज जलडमरूमध्य नियन्त्रण गर्दैन’ भन्दै पोस्ट गरेका थिए । सोही पोस्टको उत्तरमा उनले सो तस्बिर सार्वजनिक गरेको बुझिएको छ ।

यसअघि शुक्रबार सीएनएनले चाबहारको आवासीय क्षेत्रमाथि एउटा ड्रोन उडिरहेको र टाढा धुवाँको मुस्लो उठिरहेको देखिने भिडियो प्राप्त गरी त्यसको स्थान पुष्टि गरेको जनाएको थियो ।

ओमान खाडीको उत्तरी किनारमा रहेको चाबहार युद्धको सुरुवातमै आक्रमणको निशानामा परेको थियो । तर युद्धविराम भंग भएपछि यो क्षेत्र अमेरिकी आक्रमणको प्रमुख लक्ष्यमध्ये एक बनेको बताइएको छ ।

इरानी पक्षले आक्रमणको दाबी गरे पनि अमेरिकाले यस घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । साथै आक्रमणबाट भएको क्षति वा मानवीय हताहतीबारे स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।