विदेशी विद्यार्थीको भिसा नियम कसिलो बनाउँदै अमेरिका

आप्रवासन आप्रवासन

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी विद्यार्थी, सांस्कृतिक आदानप्रदान कार्यक्रममा सहभागी हुने आगन्तुक र विदेशी सञ्चारकर्मीका लागि भिसा नियम थप कडा बनाउने निर्णय गरेको छ । 

अमेरिकी गृह सुरक्षा मन्त्रालय (डीएचएस)ले जारी गरेको नयाँ अन्तिम नियमअनुसार अब एफ  (विद्यार्थी भिसा), जे (विद्यार्थी आदानप्रदान कार्यक्रम भिसा) र आई (सञ्चारकर्मीका लागि दिइने) भिसा निश्चित अवधिका लागि मात्र जारी गरिनेछ । यसअघि यी भिसा अध्ययन, कार्यक्रम वा रोजगारीको सम्पूर्ण अवधिसम्म मान्य हुने व्यवस्था थियो ।

नियम संघीय राजपत्रमा प्रकाशित भएको ६० दिनपछि कांग्रेसको समीक्षा प्रक्रियापछि लागू हुनेछ । नयाँ व्यवस्थाअनुसार विद्यार्थी र आदानप्रदान कार्यक्रमका सहभागीको भिसा अवधि अधिकतम चार वर्ष हुनेछ । विदेशी पत्रकारको भिसा अधिकतम २४० दिनका लागि दिइनेछ भने चिनियाँ नागरिकका हकमा यो अवधि ९० दिन मात्र रहनेछ । आवश्यकता परे भिसा अवधि थप्न आवेदन दिन सकिने व्यवस्था पनि राखिएको छ ।

यसका साथै स्नातकोत्तर तहका विद्यार्थीले सम्बन्धित निकायको स्वीकृतिबिना अध्ययनको उद्देश्य परिवर्तन गर्न वा अर्को शैक्षिक संस्थामा स्थानान्तरण हुन पाउने छैनन् । अध्ययन वा तालिम पूरा गरेपछि अमेरिका छाड्न पाउने समय पनि ६० दिनबाट घटाएर ३० दिन बनाइएको छ । डीएचएसका अनुसार सन् २०२४ मा १८ लाखभन्दा बढी विद्यार्थी भिसा जारी गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशत धेरै हो । सोही आर्थिक वर्षमा पाँच लाखभन्दा बढी आदानप्रदान कार्यक्रमका सहभागी र ३७ हजार ३०० भन्दा बढी विदेशी सञ्चारकर्मीलाई पनि भिसा प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

यस्ता भिसाधारकको संख्या तीव्र रूपमा बढेकाले उनीहरूको निगरानी र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको डीएचएसले उल्लेख गरेको छ । उसका अनुसार केही विद्यार्थी र आदानप्रदान कार्यक्रमका सहभागीहरू दशकौँसम्म अमेरिकामै बसिरहेका उदाहरण पनि छन् । यद्यपि नयाँ नियमको आलोचना पनि भएको छ ।

 पूर्व डीएचएस अधिकारी डग र्यान्डले यसलाई अनावश्यक प्रशासनिक जटिलता थपेर अन्तर्राष्ट्रिय विद्यार्थीलाई निरुत्साहित गर्ने कदम भनेका छन् । क्याटो इन्स्टिच्युटका आप्रवासन विशेषज्ञ डेभिड जे. बियरले पनि अध्ययनको उद्देश्य परिवर्तन र शैक्षिक संस्था परिवर्तनमा लगाइएका प्रतिबन्धको स्पष्ट कानुनी आधार नभएको टिप्पणी गरेका छन् ।