पाकिस्तानको सिन्ध प्रान्तमा सरकारी अस्पतालसँग जोडिएको एचआईभी संक्रमणको ठूलो प्रकोपले स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ ।
कराँचीस्थित कुलसुम बाई भालिका (केबीभी) अस्पतालसँग सम्बन्धित कम्तीमा १३० जनामा एचआईभी संक्रमण पुष्टि भएको छ, जसमध्ये अधिकांश बालबालिका छन् । पछिल्ला महिनाहरूमा गरिएको परीक्षणका क्रममा १० हजारभन्दा बढी व्यक्तिको स्वास्थ्य जाँच गरिएको थियो ।
प्रान्तीय अनुसन्धानले अस्पतालमा संक्रमण रोकथामका मापदण्ड पालना नगरेको, सुरक्षात्मक सामग्रीको अपर्याप्त प्रयोग भएको तथा एकपटक मात्र प्रयोग गर्नुपर्ने सिरिन्जको गलत व्यवस्थापन गरिएको निष्कर्ष निकालेको छ । यस घटनामा ३७ जना चिकित्सक र कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ भने दोषी ठहरिए कारबाही गरिने जनाइएको छ ।
विशेषज्ञहरूका अनुसार यो घटना कुनै एक अस्पतालमा सीमित समस्या होइन । पाकिस्तानमा असुरक्षित चिकित्सकीय अभ्यास, कमजोर अनुगमन प्रणाली र निजी स्वास्थ्य संस्थामाथिको अपर्याप्त नियमनका कारण यस्ता संक्रमण दोहोरिँदै आएका छन् । सन् २०१९ मा पनि सिन्धकै राटोडेरो क्षेत्रमा सयौँ बालबालिकामा एचआईभी संक्रमण देखिएको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युएनएड्सका अनुसार पाकिस्तान पूर्वी भूमध्यसागरीय क्षेत्रमा सबैभन्दा तीव्र गतिमा एचआईभी संक्रमण बढिरहेको देशमध्ये एक हो । सन् २०१० मा वार्षिक १६ हजार नयाँ संक्रमित रहेकोमा सन् २०२४ मा यो संख्या ४८ हजार पुगेको छ । हाल करिब ३ लाख ५० हजार पाकिस्तानी एचआईभीसँग बाँचिरहेका छन्, तर तीमध्ये झण्डै ८० प्रतिशतलाई आफ्नो संक्रमणबारे जानकारी छैन ।
सिन्ध उच्च अदालतले घटनाबारे सरकारसँग जवाफ मागेको छ भने संघीय सरकारले कमजोर गुणस्तरका सिरिन्जमाथि प्रतिबन्ध लगाउने, पुनः प्रयोग गर्न सकिने सिरिन्जको बिक्री बन्द गर्ने तथा शल्यक्रियाअघि अनिवार्य एचआईभी परीक्षण लागू गर्ने निर्णय गरेको छ । साथै, प्रभावित बालबालिकाको उपचारका लागि २ अर्ब पाकिस्तानी रुपैयाँको कोष स्थापना गरिएको छ ।
स्वास्थ्य विज्ञहरूले भने सिरिन्जमा मात्र प्रतिबन्ध लगाएर समस्या समाधान नहुने चेतावनी दिएका छन् । उनीहरूका अनुसार सुरक्षित उपचार अभ्यास, कडा नियमन, प्रभावकारी अनुगमन र जनचेतना अभिवृद्धि नगरेसम्म यस्ता संक्रमण दोहोरिरहने जोखिम रहनेछ ।