बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी

आप्रवासन आप्रवासन

 

 विद्रोही सङ्गठन बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले पाकिस्तानको अशान्त बलुचिस्तान प्रान्तमा सुरक्षा बलको काफिलामाथि भएको आक्रमणमा ४५ पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ ।

भारतीय सञ्चारमाध्यम द प्रिन्टले बलुचिस्तान पोस्टलाई उद्धृत गर्दै जनाएअनुसार, बिहीबार मस्तुङ क्षेत्रमा गरिएको आक्रमणको जिम्मेवारी बीएलएले लिएको हो । पाकिस्तानी सेनाले आक्रमण भएको पुष्टि गरे पनि हालसम्म हताहतको आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।

बीएलएका प्रवक्ता जियान्द बलोचले जारी गरेको विज्ञप्तिमा सङ्गठनको फतेह स्क्वाडले सुरक्षा काफिला, त्यसको सुरक्षा टोली तथा घटनास्थलमा पुगेका थप सैन्य बललाई लक्षित गरी समन्वित आक्रमण गरेको उल्लेख गरेका छन् । उनले विज्ञप्ति जारी गर्दासम्म पनि दुवै पक्षबिच भिडन्त जारी रहेको र मृतक तथा घाइतेको सङ्ख्या अझ बढ्न सक्ने दाबी गरेका छन् ।

यो आक्रमण पछिल्ला दुई साताभित्र बलुचिस्तानमा सुरक्षा बलमाथि भएको तेस्रो ठुलो हमला हो । यसअघि जियारत जिल्लाको माङ्गी ड्याम क्षेत्रमा भएको समन्वित आक्रमणमा २७ प्रहरी र लासबेलामा ११ सैनिक मारिएका थिए । ती घटनापछि पाकिस्तानी सेनाले यसै साता ‘अपरेसन शाबान’ सुरु गरेको छ । उक्त अभियानमा सेना, फ्रन्टियर कोर्प्स, बलुचिस्तान प्रहरी तथा गुप्तचर निकाय र हवाई सहायता परिचालन गरिएको बताइएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले आक्रमणका जिम्मेवारलाई खोजेर कारबाही गरिने चेतावनी दिएका छन् । उनले सैन्य कारबाही कडा र निर्णायक हुने बताएका छन् । बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठुलो तर कम जनसङ्ख्या भएको प्रान्त हो ।

प्राकृतिक स्रोत साधन माथिको अधिकार र बढी राजनीतिक स्वायत्तताको माग गर्दै यहाँ दशकौँदेखि पृथकतावादी विद्रोह जारी छ । चीनको लगानीमा विकसित ग्वादर बन्दरगाह तथा प्रान्तको रणनीतिक अवस्थिति पनि यस क्षेत्रलाई सुरक्षा र आर्थिक दृष्टिले संवेदनशील बनाउने प्रमुख कारण मानिन्छ । 

यस घटनाको अनुसन्धानका लागि पाकिस्तान सरकारले चार सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले आक्रमणको घटनाक्रम, सम्भावित कमान्ड कमजोरी, सुरक्षा व्यवस्थाको समीक्षा तथा विभिन्न सुरक्षा निकायबिचको समन्वयमा भएको त्रुटिको अनुसन्धान गर्ने बताइएको छ ।