बेलायतमा बेरोजगारी दर ४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । बेलायतको अफिस फर नेश्नल स्टाटिसटिक्स, ओएनएसले सार्वजनिक गरेको पछिल्लो रिपोर्टले रोजगारीको अवस्था सन् २०२१ जुन र अगस्टको त्रैमास यताकै खराब अवस्थामा पुगेको देखाएको हो ।
ओएनएसका अनुसार सन् २०२५ को पहिलो त्रैमास अर्थात् जनवरी, फेब्रुअरी र मार्च महिनामा बेरोजगारी दर ४ दशमलव ५ प्रतिशत पुगेको छ । यो अघिल्लो त्रैमासको तुलनामा ० दशमलव २ प्रतिशतले बढी हो ।
यस त्रैमासमा बेलायती श्रम बजारमा रोजगारी भ्याकेन्सी दर ५ दशमलव ३ प्रतिशतले घटेको छ । यस त्रैमासमा जम्मा ७ लाख ६१ हजार रोजगारी भ्याकेन्सी सिर्जना भएका थिए । जबकि, अघिल्लो त्रैमासमा ८ लाख ९२ हजार भ्याकेन्सी सिर्जना भएका थिए ।
पछिल्लो तथ्याङ्कले बेलायतको श्रम बजारले थप मन्दीको सामना गरिरहेको देखाएको छ ।
विज्ञहरूले उच्च तलब कर र हालै गरिएको न्यूनतम तलब वृद्धिलाई यसका मुख्य कारणका रूपमा चित्रण गरेका छन् ।
मन्दीको असर बेलायतमा रहेका नेपालीले समेत व्यहोर्नु परिरहेको छ ।